२०८१ बैशाख २४, सोमबार    

प्रदेशसभा बैठक १७ गते बस्ने गरी स्थगित

२०८० असार १३, बुधबार १९:३६ बजे

बागमती प्रदेशसभाको बैठक करिब आधा घण्टा बसेर स्थगित भएको छ । प्रतिपक्ष दलहरूको अवरोधका कारण पटक पटक स्थगित हुँदै आएको प्रदेशसभा बैठक आगामी १७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

बैठकमा राप्रपाका बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापाले मात्र सम्बोधन गरेका थिए । बैठकको कार्यसूची अनुसार सभामुख भुवनकुमार पाठकले बैठक सञ्चालन गरेलगत्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाका सांसदले आसनबाट उठेर विरोध गरेका थिए । उनीहरुको विरोधका बीच सभामुख पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलको कार्यसूची अघि बढाएका थिए ।

बजेटमाथिको छलफलमा भाग लिने सहभागीको नाम प्राप्त भएको र राप्रपा संसदीय दलका नेता थापालाई बोल्न समय निर्धारण गर्दै सभामुखले रुलिङ गरेपछि प्रतिपक्ष दलका सांसदहरूले विरोधलाई रोक्दै आसनमा बसेका थिए ।

नेता थापाको सम्बोधन सकिएलगत्तै सांसदहरूले पुनः विरोधको कार्यक्रमलाई निरन्तरता दिन उभिँदै गर्दा सभामुख पाठकले बैठक स्थगन गरेको रुलिङ गरेका थिए । प्रदेशसभाको बैठकमा सत्तापक्षमका ३ सांसद र केही मन्त्रीसहित ३४ जना सांसदहरूको उपस्थिति रहेको थियो । बैठकमा एमालेका र राप्रपाका करिब २६ जना सांसदहरूको उपस्थिति रहेको थियो । प्रदेशसभा सञ्चालनको लागि कुल ११० जना सांसद मध्ये एक चौथाइ सांसद आवश्यक हुन्छ ।