२०८० चैत्र १६, शुक्रबार    

मेयर लामाको गुनासो : निःशुल्क खानेपानी उपभोगमा समस्या भयो

२०८० जेठ ८, सोमबार १९:१२ बजे

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले नगरको सबै नागरिकले निःशुल्क खानेपानीको सुविधा उपभोग गर्न नसकेको बताएकी छिन् ।

सोमबार भएको हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको १० औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले उपमहानगरपालिकाका क्षेत्रमा १० हजार लिटर निःशुल्का खानेपानी वितरण गर्ने निर्णय कार्यान्वयन गर्न नसकेको बताएकी हुन् ।

हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले नेपाल जलस्रोतमा धनी देश भएपनि खानेपानी वितरणमा कमजोर रहेको बताए । उनले ७ स्थानमा लिफ्टिङ गरेर पनि नागरिकलाई खानेपानीको सुविधा उपभोग गर्न नसक्ने अवस्था रहेका भन्दै राज्यले सो समस्या समाधान गर्न अग्रसर हुनुपर्ने बताए ।

कार्यक्रममा बोर्डका निमित्त कार्यकारी निर्देशक विष्णु प्रसाद सापकोटाले खानेपानी संस्थानबाट बोर्डमा परिणत भएपछी अहिले सम्म भएका कामका प्रगति विवरण प्रस्तुत गरेका थिए ।

मेयर लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा उपमेयर बानियाँ विशिष्ट आतिथि र बोर्डका अध्यक्ष प्रताप सविष्टको सभाध्यक्षता रहेको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२ का वडा अध्यक्ष विष्णु गोपाल महर्जन, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्ण सारु मगर, हेटौंडा खानेपानी व्यावस्थापन बोर्डका सदस्य डा. कृष्ण धिताल, खानेपानी उपभोक्ता समितिका भवसागर श्रेष्ठ लगायतकाले आफ्नो भनाई राखेका थिए ।