२०८१ बैशाख २०, बिहीबार    

कुलेखानीमा डुबेर एकजनाको मृत्यु

२०७९ चैत्र २२, बुधबार १५:०५ बजे

मानव निर्मित नेपालकै सवैभन्दा ठूलो ताल कुलेखानी (इन्द्रसरोबर) मा डुबेर एकजनाको मृत्यु भएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–१, मार्खुमा रहेको तालमा मंगलबार दिउँसो डुवेर वेपत्ता भएको युवकको शव बुधबार दिउँसो फेला परेको हो । काठमाडौं छैमलेका ३३ बर्षीय राजकुमार सुवेदी तालमा पौडी खेल्ने क्रममा वेपत्ता भएका थिए ।

सुवेदी स्थानीयले चलाएको डुंगा चढेकोमा ज्याकेट, जुत्ता र मोबाइल डुंगामै छोडेर तालमा हाम फालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

नेपाल प्रहरीको टोलीले मंगलबार उनको खोजी गरेपनि नभेटेपछि बुधबार सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले खोजी गरेका थिए ।

सशस्त्रको गोताखोरसहितको सुरक्षाकर्मीको टोलीले उनको शव तालमा भेटेको छ । शव गाडिएको अवस्थामा फेला परेको थियो । शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।