२०८१ बैशाख १६, आईतबार    

निर्माण व्यवसायी महासंघको साधारणसभा हेटौंडामा हुने

२०८० फाल्गुन ११, शुक्रबार १६:३८ बजे

निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारणसभा हेटौंडामा हुने भएको छ ।

चैत १६ र १७ गते वाग्मती प्रदेशको राजधानी हेटौंडामा पहिलो पटक महासंघको साधारणसभा हुने भएको हो । निर्माण व्यवसायी संघ मकवानपुर शाखाको समन्वय तथा सहआयोजनामा सभा हुन लागेको हो ।

संघले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै दुई दिनसम्म हेटौंडामा हुने साधारणसभामा देशभरका ७७ जिल्ला शाखा, सात प्रदेश, एसोसियट सदस्य तथा केन्द्रीय समिति तथा सल्लाहकारसहित करिब १८ सय निर्माण व्यवसायी सहभागी हुने संघ जिल्ला अध्यक्ष बालगोपाल कडेँलले जानकारी दिए ।

‘हामीले साधारणसभाको तयारी अगाडि बढाइसकेका छौं । करिब दुईहजारका लागि आवासीयसहितको व्यवस्था गर्ने गरी तयारी हामीले गरेका छौं ।’, अध्यक्ष कडेँलले साधारणसभामा करिब एककरोड रुपैयाँ खर्च अनुमान गरिएको छ ।

‘यस्ता किसिमको राष्ट्रिय कार्यक्रमले यसक्षेत्रको पर्यटन प्रबर्द्धनसहित आर्थिक क्रियाकलापमा वृद्धि हुनेछ ।’, उनले आवासका लागि होटल एसोसिएसनसँग संस्थागतरुपमा छलफल अगाडि बढाइसकिएको बताए ।

संघ महासचिव राजेन्द्रप्रसाद चौलागाईंका अनुसार साधारणसभासँगै निर्माण सामग्रीको समेत स्टलहरु कार्यक्रम स्थलमा राखिनेछ ।