२०८१ बैशाख २१, शुक्रबार    

चुनाव सार्ने षड्यन्त्र भइरहेको छ : योगेश भट्टराई

२०७८ चैत्र १२, शनिबार १३:४३ बजे

नेकपा एमालेका केन्द्रीय सचिव योगेश भट्टराईले सत्तारुढ गठबन्धन चुनाव सार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

शनिबार हेटौंडामा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गठबन्धन चुनाव सार्ने बहानाको खोजीमा लागेको आरोप लगाएका हुन् । ‘स्थानीय तहको चुनावको मिति घोषण गरेपनि सर्वोच्चमा अझै मुद्धा रहेको छ । मलाई लाग्छ सर्वोच्चले संवैधानिक व्यवस्थाभन्दा बाहिर गएर फैसला गर्दैन । जेठ ६ गतेभित्र स्थानीय तहमा नयाँ जनप्रतिनिधिको सपथ ग्रहण भइसक्नेछ ।’, उनले भने ।

भट्टराईले एमालेले आन्तरिकरुपमा चुनावको तयारी अगाडि बढाइसकेको बताए । ‘हामी वैशाखको पहिलो हप्ताभित्रमा उम्मेदवार टुंग्याउने छौं । वैशाख ९ गते एकैदिन देशभर घोषणापत्र सार्वजनिक गर्नेछौं ।’, उनले स्थानीय तहमा मधेशमा ठूलो सफलता मिल्ने दावी गरे । ‘पार्टी फुटको असर परेको छ । तर, हाम्रो पार्टीमा आउने क्रम बढेको छ । जसको क्षति हामीले पूर्ति गरिसकेका छौं । मधेशमा हामी बलियो भएका छौं ।’, उनले भने ।

उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एमालेसँग नजिक हुन्छौं भनेर शेरबहादुर देउवालाई तर्साउन बन्द गर्न पनि आग्रह गरे । ‘कांग्रेस एमालेवीच तालमेलहुँदैन । प्रमुख शक्तिवीच प्रतिस्पर्धा आवश्यकता छ ।’, भट्टराईले एमालेले घोषितरुपमा गठबन्धन नगर्ने र आवश्यकता अनुसार गर्ने अधिकार तल्लो तहलाई दिने बताए ।