२०८० चैत्र १५, बिहीबार    

एक तिहाई सिटमा महिलालाई उम्मेदवार बनाउनुपर्छ : सहमहामन्त्री उपाध्याय

२०७९ श्रावण १४, शनिबार १४:०० बजे

नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्यायले आगामी प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचनमा सकेसम्म धेरै महिलालाई उम्मेदवार बनाउनुपर्ने बताएकी छन् । उनले राजनीतिक दलहरूमा महिलाप्रतिको पुरानो दृष्टिकोण कायम रहेको बताइन् ।

‘महिलाहरु हिजो चुनावमा जान डराउँथे होला । तर अहिले त्यस्तो छैन । महिलाहरु पनि चुनाव लड्न तयार छन् । हामी तयार छौं,’ उनले भनिन्, ‘दलहरूमा महिलाप्रतिको पुरानो सोच कायम छ, त्यो हटाइनुपर्छ ।’

शनिबार काठमाडौंमा भएको नेपाली कांग्रेसका महिला नेताहरुको भेलालाई सम्बोधन गर्दै नेता उपाध्यायले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा एक तिहाई सिटमा महिलालाई उम्मेदवार बनाउनुपर्ने माग गरिन् । ‘टिकट दिने संसदीय समितिले हो । संसदीय समिति ठूलो छ, समितिमा म एक्लो महिला छु,’ उनले भनिन्, ‘मैले एक्लै भनेर महिलालाई टिकट दिलाउन सक्ने अवस्था छैन । तर अब सबै महिला एकजुट हुन आवश्यक छ । हामी सबैले प्रत्यक्षतर्फ पनि हामी लड्न सक्छौं भनेर हिम्मत गर्‍यौं भने त्यो सम्भव छ । म त यही चुनावमा एक तिहाई सिटमा महिलालाई उम्मेदवार बनाइनुपर्छ भनेर जोड दिइरहेकी छु ।’

सहमहामन्त्री उपाध्यायले नेपालमा संविधान र कानुनले लेखेपछि मात्रै महिलाले अधिकार पाउने अवस्था रहेको बताइन् । ‘हामीले संविधानमा लेखेका कारण अहिले एक तिहाई महिला सहभागिता हुने अवस्था आएको हो । तर, संविधानले गरेको व्यवस्था नै लागू हुने अवस्था छैन । लेखेको पनि नपाइने, नलेखेको त झनै नपाइने अवस्था बनिरहेको छ,’ उनले भनिन् ।