२०८१ बैशाख १५, शनिबार    

कांग्रेस जिल्ला भेला पुस ३ गते, तयारी तीब्र

२०८० मंसिर १६, शनिबार २१:३३ बजे

नेपाली कांग्रेस मकवानपुरले जिल्ला भेलाको तयारी तीब्र पारेको छ ।

पुस ३ गते हेटौंडामा हुने जिल्ला भेलाको तयारी पार्टीले तीब्र पारेको हो । पार्टीको जिल्ला अधिवेशन, स्थानीय, प्रदेश र संघको निर्वाचनको समिक्षा र आगामी सांगठनिक गतिविधि तय गर्नका लागि आव्हान गरिएको जिल्ला भेलाको तयारी तीब्ररुपमा अगाडि बढाइएको हो ।

सम्मेलनका विषयमा हेटौंडा–२ स्थित पार्टी कार्यालयमा शनिबार पार्टी प्रतिनिधि, शुभेच्छुक र भातृ संगठनका अगुवाबीच छलफल भएको छ । पार्टी जिल्ला सचिव भीमसेन महतको सभाध्यक्षतामा भएको छलफलमा नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ सभापति दामोदर खनाल तथा पार्टी जिल्ला सदस्यद्वय अर्जुन चौलागाईं तथा खेमराज सापकोटा एवम् पार्टी शुभेच्छुक तथा भातृ संगठनका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

पार्टी सचिव भीमसेन महतले जिल्ला भेलाको तयारीको विषयमा छलफलमा जानकारी गराएका थिए । उनका अनुसार भेलामा करिब दुई हजार जनाको उपस्थिति रहनेछ । करिब १४ लाख रुपैयाँ खर्च अनुमान गरिएको त्यसका लागि स्रोत व्यवस्थापनको तयारी भइरहेको बताए । उनका अनुसार पार्टीको वडादेखि, स्थानीय तह, क्षेत्र, संघ र जिल्लास्तरमा भेलाको विषयमा छलफल भइरहेका छन् ।

‘भेलालाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने र सांगठनिक प्रतिवेदन तयार पार्ने भनेर छलफल भइरहेको छ ।’, उनका अनुसार जिल्लाभर भेलामा सहभागी हुनका लागि क्षेत्रीय प्रतिनिधि, पार्टी, भातृ र शुभेच्छुक संगठनका पदाधिकारीलाई अनुरोध गर्ने काम भइरहेको बताए ।