२०८१ बैशाख ६, बिहीबार    

वाग्मती प्रदेशसभा बैठकमा पाँच वटा अध्यादेश टेबल

२०७९ पौष १८, सोमबार १७:२९ बजे

वाग्मती प्रदेशसभा दोस्रो कार्यकालको पहिलो बैठक सोमबारबाट सुरु भएको छ । पहिलो बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको छ।

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले अध्यक्षता गरेको बैठकले सभामुख र उपसभामुख चयनको मिति तोक्नुका साथै पाँच वटा अध्यादेश टेल भएको छ ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन,सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गरेको बनेको अध्यादेश–२०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबल गरेका थिए।

संस्कृति तथा पर्यटन मन्त्री दीपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन–२०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्री बसुन्धरा हुमागार्इंले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ पेस गरेका थिए। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकलाग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश–२०७९ टेबल गरेका थिए।

बैठकले प्रदेशका सभामुख र उपसभामुखको चयनका लागि पुस २९ गते शुत्रबवार बिहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । बैठकमा प्रदेशसभा नियामावाली पहिलो संशोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाको सदस्य उर्मिला नेपाल, भारती पाठक, ठाकुरप्रसाद ढकाल, लक्ष्मी घिमिरे तथा राजेन्द्रमान श्रेष्ठलाई मनोनीत गरेको छ । प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ ।