२०८१ बैशाख २१, शुक्रबार    

आफूखुशी सार्वजनिक विदा दिएपछि गढीको सर्वत्र आलोचना

२०७८ चैत्र १३, आईतबार ०९:१४ बजे

मकवानपुरगढी गाउँपालिका आफूखुशी सार्वजनिक विदा घोषणा गरेपछि सर्वत्र आलोचना भएको छ । गाउँपालिकाले मनलाग्दी सार्वजनिक विदा दिएर सर्वसाधारणको सेवा पाउने अधिकार कुण्ठित गरेको आरोप लगाइएको छ ।

गाउँपालिकाले पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरेको खुशीयालीमा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । यस्तो निर्णय गरेर गाउँपालिकाले सर्वसाधारणको सेवा पाउने अधिकार कुन्ठित गरेको प्रष्ट भएको छ ।

शनिबार बालमैत्री घोषणा गरेको पालिकाले भोलिपल्ट अर्थात् आज आइतबार सार्वजनिक बिदा घोषणा गर्नुलाई गाउँपालिकाको एक्लौटी निर्णय भएको भन्दै आलोचना भएको हो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीद्वारा हस्ताक्षर गरिएको सूचनामा गाउँपालिका क्षेत्रमा रहेका सरकारी तथा गैरसरकारीलाई लागू हुनेगरी सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख गरिएको छ । पछिल्लो समय विभिन्न बाहनामा स्थानीय सरकारले बिदा दिएको भन्दै विरोध समेत हुँदै आएको छ ।