२०८१ बैशाख २०, बिहीबार    

मंसिर ४ पछि तीनै तहमा गठबन्धन सरकार : पराजुली

२०७९ कार्तिक ४, शुक्रबार १९:१३ बजे

गठन्धनको तर्फबाट मकवानपुरको क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले मंसिर ४ पश्चात तीनै तहमा लोकतान्त्रिक–वाम गठबन्धनको सरकार बन्ने बताएका छन् ।

गठबन्धनको नगर समितिले आयोजना गरेको कार्यक्रममा उनले मकवानपुरको ६ वटै सिटमा गठबन्धनको जित सुनिश्चित भएको बताएका हुन् । ‘गठबन्धन अहिले मुलुक र समयको आवश्यकता हो, गठन्धनमा रहेका शीर्ष नेताहरुले नै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याएका हुन् । यो गठबन्धन पवित्र रहेको छ’, उनले भने, ‘हामी ५ वटै दलका उम्मेदवार हौं । हामीले एकअर्कालाई विश्वास गर्दै हाम्रा उम्मेदवारी र एजेण्डालाई घरघरमा पुर्‍याउन जरुरी छ । प्रतिगमनको विरुद्ध र मुलुक जोगाउन गठबन्धन बनेको बिषय बुझाउन जरुरी छ ।’

समानुपातिकमा आ–आफ्नो पार्टीमा र प्रत्यक्षमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनले आम नेता कार्यकर्तालाई अनुरोध गरे । प्रतिगमनकारी शक्तिले जिते हालसम्मको उपलब्धी गुम्ने खतरा हुने उनको भनाई रहेको थियो । गठबन्धनका उम्मेदवार जिताउन नसके सरकार बन्ने बेलामा समस्या हुने पराजुलीले बताए । नेपाली कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) मकवानपुर अध्यक्ष सूर्यचन्द्र न्यौपाने, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य मानकुमारी नेपाली आशा, नेपाली कांग्रेसका महासमिति सदस्य अशोक शाक्य, माओवादीका हेटौंडा उपमहानगर अध्यक्ष तीर्थबहादुर थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।