हेटौंडा/ संस्थापन पक्षबाट नेपाली कांग्रेस मकवानपुरमा सभापति बन्ने उद्घोषसहित उम्मेदवारी घोषणा गरेका सचिव बुद्ध लामाले सहमति भएको खण्डमा आफू पछाडि हट्न तयार रहेको बताएका छन् ।
उनले पार्टी कार्यबाहक सभापति विष्णु लामिछानेको पक्षमा सहमति भए आफू उपसभापति बस्न तयार रहेको बताएका हुन् । शनिबार दिउँसो घोषणा सभा आयोजना गरेर उनले सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । उनी संस्थापन पक्षधर हुन् ।
‘अझै केही विग्रिएको छैन । संस्थापन पक्षमा सहमति हुन्छ भने म विष्णु दाईभन्दा तल बसेर काम गर्न तयार छु ।’, उनले भने । हाल संस्थापन पक्षबाट लामिछाने, लामासहित आनन्दराम पराजुलीले उम्मेदवारी घोषणा गरेका छन् ।संस्थापन इतरबाट जयराम लामिछानेले सभापतिका आंकाक्षी हुन् ।
‘जयराम दाई देशमै चर्चित नाम हो । उहाँलाई जिल्लाको राजनीतिमा नखुम्चिन म आग्रह गर्दछु ।’, लामाले भने,‘ मैले सभापति जितेपछि हाम्रा उम्मेदवारलाई हरेक स्थानमा चुनाव जिताउने र जित्ने बन्न योग्य बनाउने प्रयासमा म लाग्नेछु ।’, उनले सभापति पदका अन्य आकांक्षीलाई धेरै खर्च गरेर नेता नहुनेभन्दै कम खर्च गर्न समेत सुझाएका छन् ।