आगामी पुष २४ देखि २७ गते हुने मकवानपुर उद्योग वाणिज्य संघको ५८ औं वार्षिक साधारणसभा तथा निर्वाचनका लागि संघका उपाध्यक्ष प्रमोद सिंह रानाभाटले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
चुनावी प्रयोजनका लागि बुधबार हेटौंडा २ पल्पसा रोडमा सम्पर्क सचिवालयको उद्घाटनसँगै अध्यक्ष पदमा लागि उम्मेदवारी घोषणा गरेका हुन् । २०६८ सालदेखि उद्योग वाणिज्य संघको विभिन्न पदमा रहेर काम गर्दै वर्तमान कार्यसमितिको उपाध्यक्ष रहेका उनले व्यवसायीको हकहितमा योजनाबद्ध काम गर्नका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताए ।
‘उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, कोषाध्यक्ष, महासचिव र उपाध्यक्ष पदमा रहेर ४ कार्यकाल काम गरेँ । व्यवसायीको समस्या, चुनौती र अवसरलाई नजिकबाट बुझेको छु’, अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै रानाभाटले भने, ‘५८ औं साधारणसभा तथा निर्वाचनबाट अध्यक्ष पदमा रहेर काम गर्ने इच्छासहित आएको छु । केही दिनमा आफ्नो योजना र प्यानल घोषणा गर्नेछु ।’ उनले जिल्लाका आम उद्योगी, व्यवसायीबाट सहयोगको अपेक्षा गरेको बताए ।
निर्वाचन प्रयोजनका लागि सञ्चालनमा ल्याइएको सचिवालय उनले पिता डम्बर सिंह रानाभाटबाट उद्घाटन गराएका हुन् । अध्यक्षका उम्मेदवार रानाभाटले व्यवसायीको हकहित र आर्थिक विकासका लागि योजनाबद्ध काम गर्ने उद्घोष गरेका छन् । २०२४ सालदेखि व्यवसायमा लागेका उनले जिल्लाका सबै राजनीतिक दल निकटका उद्योगी व्यवसायीलाई समेटेर टिम बनाउने तयारी गरेका छन् । ४ कार्यकाल विभिन्न पदमा रहेर संघको अनुभव सम्हालिसकेकोले अब व्यवसायीले नै नेतृत्वमा आउनुपर्छ भन्ने अनुरोध गर्नुका साथै व्यवसायीको हितमा काम गर्ने जाँगरका साथ अघि बढेको उनले बताए ।
‘वर्तमान कार्यसमितिमा रहेका साथीहरुको प्रतिबद्धता र मेरो लगनशिलताको आधारमा पनि अब संघको नेतृत्व गर्ने मेरै पालो हो’, रानाभाटले भने, ‘सबै साथीहरुलाई मेरो टिममा रहेर एकताबद्ध हुँदै व्यवसायीको हकहितमा काम गरौं भन्ने अनुरोध समेत गर्न चाहन्छु ।’ उद्योगी व्यवसायीको साझा मान्छे भएर उनीहरुकै लागि काम गर्ने उत्साहका साथ अभियानमा होमिएको बताउँदै अब पछि नहट्ने दावी गरे ।
कार्यक्रममा संघको विभिन्न पदका आकांक्षीसहित विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।