२०८० चैत्र १५, बिहीबार    

टुचेल र कोन्टेको झगडाले मैदान तनावग्रस्त

२०७९ श्रावण ३०, सोमबार १०:२० बजे

इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार चेल्सी र टोटेनहमबीचको खेल मैदानभित्रको नतिजाभन्दा बढी मैदानबाहिर दुई प्रशिक्षकबिचको विवादका कारण चर्चामा आयो । चेल्सीका प्रशिक्षक थोमस टुचेल र स्पर्सका एन्टोनियो कोन्टे खेल दौरान र खेलपछि एक अर्काविरुद्ध भनाभनमा उत्रँदा खेलको माहोल तनावग्रस्त भएको थियो ।

खेलमा चेल्सीले दुई पटक अग्रता लिएपनि जित दर्ता गर्न सकेन । दोस्रो हाफको ६९ औं मिनेटमा टोटेनहमले बराबरी गोल गरेपछि कोन्टेले खुसियाली मनाउने क्रममा टुचेल फोर्थ अफिसियलसामु गोलप्रति असन्तुष्टि जनाइरहेका थिए । यसक्रममा दुवै प्रशिक्षकबीच भनाभनको अवस्था सिर्जना भयो । रेफ्रीले दुवैलाई पहेंलो कार्ड दिए ।

त्यसपछि चेल्सीले रिस जेम्सको गोलमा अग्रता लिँदा टुचेलले स्पर्सको बेन्च अगाडिबाट कुद्दै आफ्नो समर्थकसम्म झन्डै ५० मिटर कुदेर खुसी मनाए । सामान्यतया यस अवस्थामा रेफ्रीले पहेंलो कार्ड दिनुपर्ने भएपनि खेलको तनावका कारण रेफ्रीले त्यसो गरेनन् ।

खेलको इन्ज्युरी समयमा स्पर्सले कर्नर लिने क्रममा क्रिस्टियन रोमेरो र मार्क कुकुरेलाबीच पेनाल्टी क्षेत्रभित्र तानातान भयो । यसबेला रोमेरोले कुकुरेलाको कपाल ताने तर रेफ्रीले फल दिएनन् । त्यसपछि आएको कर्नरमा ह्यारी केनले गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए ।

खेल सकिएपछि हात मिलाउने क्रममा दुई प्रशिक्षकबीच पुन: भनाभन भयो । हात मिलाउने क्रममा एक अर्कासँग भनाभन हुँदा दुवै टोलीका अफिसियल र प्रशिक्षक नै उनीहरुलाई छुट्टयाउन आउनुपर्यो । रेफ्री एन्थोनी टेलरले यसपटक भने दुवैलाई रातो कार्ड दिए ।

पोस्ट म्याचमा दुवै प्रशिक्षकले यस घटनाबारे खुलेर बोल्न चाहेनन् । टुचेलले खेलका दौरान यसो हुने भएपनि रेफ्रीको कमजोरीका कारण चेल्सी जितबाट बन्चित भएको बताए । ‘हामी प्रशिक्षकबीच जे भयो, त्यसो हुनु जरुरि थिएन । तर खेल दौरान अन्य धेरै कुरा जरुरि थिएन । रेफ्रीले निर्णय ठिक दिएनन् । भीएआर हुँदा पनि यस्तो गल्ति कसरि हुन सक्छ,’ टुचेलले भने ।

यता कोन्टेले भने प्रशिक्षकको झगडाको विषय खेलभन्दा महत्त्वपूर्ण नरहेको बताए । ‘हामी अब खेलको कुरा गरौं । प्रशिक्षकबीच जे भयो, त्यो सकियो । आजको खेलमा हामीले १ अंक जोड्यौं । पछिल्लो सिजन हामी यहाँ असफल भएका थियौं । आज सुधार गर्दै १ अंक जोड्नु राम्रो हो,’ उनले भने ।

आइतबार राती नै कोन्टेले सामाजिक सन्जाल इन्स्टाग्राममा भने घटनालाई लिएर व्यंग्य गरेका छन् । टुचेल दोस्रो गोलको खुसी मनाउने क्रममा आफ्नो बेन्च अघिबाट गएको थाहा नपाएको जनाउँदै उनले भिडियो पोस्ट गरेर लेखेका छन्, ‘मजा आउँथ्यो यदि मैले थाहा पाएर लडाएको भए ।’