२०८१ बैशाख १३, बिहीबार    

पर्याप्त छैन डायलाइसिस मेसिन, समस्यामा मिर्गाैला विरामी

२०७९ श्रावण २४, मंगलबार १४:३७ बजे

मकवानपुरमा मिर्गाैलासम्बन्धी समस्या भएका बिरामीका लागि डायलाइसिस सेवा सकसपूर्ण छ । पर्याप्त डायलाइसिस मेसिन नहुँदा मकवानपुरका मिर्गाैलासम्बन्धी समस्या भएका बिरामीले सहजै डायलाइसिस सेवा पाएका छैनन् । सरकारीस्तरमा हेटौँडा अस्पताल र निजी क्षेत्रमा चुरेहिल हस्पिटलमा निःशुल्क डायलाइसिस सेवा सञ्चालन भइरहे पनि पर्याप्त जनशक्ति र मेसिन नहुँदा डायलाइसिस सकसपूर्ण बनेको हो ।

मकवानपुरमा हाल डायलाइसिस आवश्यक पर्ने पाँच सय ३७ जना बिरामी छन् । तर, जिल्लामा ७८ जनाका लागि मात्र डायलाइसिस सेवा दिन सकिने संयन्त्र छ, जसका कारण चार सय ५९ जना बिरामी जिल्लाबाहिर धाउनुपर्ने बाध्यता छ । हेटौँडा अस्पतालको तथ्यांकअनुसार पाँच सय ३७ जना मकवानपुरमा मिर्गाैलासम्बन्धी बिरामीले डायलाइसिस गर्नुपर्ने देखिन्छ ।

 हेटौँडा अस्पताल सञ्चालन तथा विकास समिति सदस्य उत्सव चौलागाईंले मकवानपुरमा अझै पनि डायलाइसिस गराउने बिरामीका लागि सहज नभएको बताए । उनले पाँच सय ३७ जना बिरामी डायलाइसिस गराउनुपर्ने देखिएको र हाल ७८ जनाले मात्र सेवा पाइरहेकाले ठूलो संख्याका बिरामी हेटौँडामै डायलाइसिस सेवा लिनबाट वञ्चित हुनुपरेको प्रतिक्रिया दिए ।

समिति सदस्य चौलागाईंका अनुसार हेटौँडा अस्पतालमा हाल १० वटा मेसिनबाट सातामा ४५ जनाले सेवा लिइरहेका छन् । हेटौँडा अस्पतालमा गत असारबाट डायलाइसिस सुरु गरिएको हो । अस्पतालका लागि बहुर्राष्ट्रिय कम्पनी युनिलिभरले दुई, हेटौँडा उपमहानगरपालिकाले दुई, शिवम् सिमेन्टले एक र बागमती प्रदेश सरकारले तीनवटा मेसिन सहयोग गरेपछि डायलाइसिस सञ्चालनमा ल्याइएको थियो । 

हाल अस्पतालमा आठवटा मेसिन सञ्चालित छन् । थप दुईवटा मेसिन आगामी भदौबाट सञ्चालनमा ल्याउने र तीन सिफ्ट सञ्चालन गर्ने तयारी रहेको चौलागाईंले बताए । मेसिनसँगै जनशक्तिको अभावका कारण पनि डायलाइसिस सेवा सकसपूर्ण बनेको अस्पतालको दाबी छ । दुईजना नेफ्रोलोजीसहित सातजना जनशक्ति आवश्यक पर्छ । हाल अस्पतालमा एकजना नेफ्रोलोजीसहित पाँचजना मात्र जनशक्ति छ ।

यसैगरी, चुरेहिलमा आरोग्य फाउन्डेसनले तीनवटा मेसिनबाट डायलाइसिस सेवा दिइरहेको छ । सातामा ३६ जनाको डायलाइसिस गरिने चुरेहिल हस्पिटलका अध्यक्ष कृष्ण कटुवालले बताए । उनले हस्पिटलले स्थान मात्र उपलब्ध गराएको र व्यवस्थापन, मेसिन सञ्चालन सबै आरोग्य फाउन्डेसनले गर्दै आएको अध्यक्ष कटुवालले जानकारी दिए ।