२०८१ बैशाख १७, सोमबार    

चिकित्सक कुटपिटको विरोधमा प्रदेशसभा अगाडि प्रदर्शन

२०८० भाद्र ३०, शनिबार १०:५४ बजे

चिकित्सक कुटपिटको विरोधमा हेटौंडामा वाग्मती प्रदेशसभाको भवन अगाडि प्रदर्शन गरिएको छ ।

हेटौंडामा रहेको चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको समूहले हेटौंडा–१० स्थित प्रदेशसभा भवन अगाडि प्रदर्शन गरेका हुन् । शनिबार विहान ११ बजेबाट प्रदेशसभाको वैठक बस्दैछ । प्रदेशसभा भवन अगाडि उपस्थित भएका स्वास्थ्यकर्मीले प्लेकार्डसहित सुरक्षाको माग गरेका छन् । उनीहरुले चिकित्सक कुटपिटमा संलग्न सवैलाई पक्राउ गर्नुपर्नेभन्दै आन्दोलन गरिरहेका छन् । स्वास्थ्यकर्मीको आन्दोलनका कारण अहिले यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आन्दोलनका कारण हेटौंडामा स्वास्थ्य सेवा ठप्प छ । हेटौंडाका निजी तथा सरकारी अस्पताल, मेडिकल, क्लिनिक तथा डेन्टलले इमर्जेन्सी बाहेकका स्वास्थ्य सेवा ठप्प पारेका छन् । बुधबार विहान हेटौंडा–१, भिन्तुनापथ स्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिकरुपमा आक्रमण भएको थियो । गत साउन २५ मा डेंगुबाट चितवनमा मृत्य भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्रै प्रवेश गरेर डाक्टरको लापरबाहीका कारण बिरामीको मृत्यु भएकोभन्दै एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापालाई कुटपिट गरेका थिए ।

यस्तै, प्रमुख जिल्ला अधिकारी सूर्य सेढाईंले जिल्लामा कार्यरत् सम्पूर्ण डाक्टरहरुलाई काममा फर्किन अपिल गरेका छन् । हेटौंडा अस्पतालमा करिब डेढ घण्टा चिकित्सकसँग सुरक्षाको पूर्ण ग्यारेण्टी लिन राज्य तयार रहेको र घटनामा संलग्न सवैलाई कारबाही गरिने प्रतिबद्धता जनाउँदै उनीहरुलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेका थिए ।

जवाफमा डाक्टरहरुले नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको अवस्थामा केही समय पर्ख र हेरको अवस्थामै रहेको जनाएका छन् । ‘आइतबारबाट स्वास्थ्य सेवा पूर्णरुपमा सञ्चालन गर्ने विषयमा चिकित्सकहरु सकारात्मक हुनुहुन्छ ।’, उनले घटनामा संलग्नलाई पक्राउ गर्न प्रशासनले आवश्यक काम गरिरहेको बताए । ‘जिल्ला प्रहरी र प्रदेश प्रहरी कार्यालयलाई सीसीटीभी फुटेजको सुक्षम अनुसन्धान गरी घटनामा संलग्नलाई पक्राउ गर्न अनुरोध गरेका छौं ।’, उनले हालसम्म पक्राउ मात्र हुने भनेर हामी मौन नबसी अरु पनि समात्ने बताए ।

डाक्टर कुटपिटको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध हेटौंडामा थप अनुसन्धानका लागि तीनदिनको म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार जिल्ला अदालत मकवानपुरले ३ दिनको म्याद थप गरी ४ जनालाई प्रहरी हिरासतमा राखि अनुसन्धान गर्न समय दिएको जानकारी दिए ।