२०८१ बैशाख १६, आईतबार    

चैनपुर जेसीज कपको उपाधी प्रदेश प्रहरीलाई

२०८० कार्तिक १, बुधबार २१:३४ बजे

जेसीआई चैनपुर प्रस्तावितले आयोजना गरेको प्रथम जेसीज कप खुला फुटबल प्रतियोगिताको उपाधि बागमती प्रदेश प्रहरी गण हेटौंडाले जितेको छ ।

बुधबार भएको फाइनल भिडन्तमा केदारेश्वर युवा क्लव रजैयालाई १-० गोलले हराउँदै प्रहरीले उपाधी जितेको हो । प्रहरीका लागि देवबहादुर सुनार नायक बने । उनले गरेको गोल नै खेलमा निर्णायक बन्यो । उनले दोस्रो हाफको अन्तिम १० मिनेट बाँकी रहँदा गोल गरेका हुन् । बिजेता प्रहरीले नगद ५० हजार ५५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने केदारेश्वरले २५ हजार ५२५ रुपैयाँमै चित्त बुझाउन बाध्य भएको छ । रजैयाले सिमपानी र प्रहरीले सयपत्री एफसी सुनाचुरीलाई हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

खेलमा प्रहरीका सुकबहादुर सार्की उत्कृष्ट गोलरक्षक, केदारेश्वरका उत्तम मोक्तान उत्कृष्ट डिफेन्डर, प्रहरीकै विशाल थिङ उत्कृष्ट मिडफिल्डर, एफसी सिमपानीका राहुल थापा मगर उत्कृष्ट फरवार्ड र प्रहरीका राजेन्द्र गुरुङ उत्कृष्ट प्रशिक्षक घोषित भए । विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी मनहरी गाउँपालिकाका कार्यवाहक अध्यक्ष शिवप्रसाद खनाल, चैनपुर जेसीज प्रस्तावितका अध्यक्ष गणेशदर्पण अधिकारी, मातृशाखा पर्साखैरहनी जेसीजका अध्यक्ष सुरज नेपाल लगायतले पुरस्कार वितरण गरेका हुन् ।

असोज २३ गतेबाट सन्चालन भएको प्रतियोगितामा मकवानपुरका १६ वटा क्लवको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि खनालले प्रस्तावित शाखाले मकवानपुरको पश्चिमी क्षेत्रमा विभिन्न सामाजिक कार्य गरिरहेकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरे ।

दशैं, तिहार, छठ लगायतको पर्वको शुभकामनासंगै फुटबल खेलको विकास र खेलाडीको बीचमा भातृत्वको सम्बन्ध स्थापनाको लागि फुटबल प्रतियोगिता आयोजना गरिएको जेसीजका अध्यक्ष गणेशदर्पण अधिकारीले जानकारी दिए ।

कार्यक्रम संयोजक प्रमोद अधिकारीको संयोजकत्वमा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष रश्मि बस्नेत, पर्सा खैरहनी जेसीजका अध्यक्ष सुरज नेपाल, रत्ननगर जेसीजका अध्यक्ष अमितकुमार गुप्ता, मनहरी गाउँपालिका ४ नम्बर वडा अध्यक्ष प्रकाश थापा, राष्ट्रिय स्वतन्त्र पार्टी मनहरी सभापति गोविन्द सापकोटा, उपाध्यक्ष मिलन ढुंगाना लगायतले मन्तव्य व्यक्त गरेका थिए ।