२०८१ बैशाख १६, आईतबार    

भारतीय खेलाडी कुण्डु एसियाली च्याम्पियन

२०८० मंसिर १७, आईतबार २०:५४ बजे

हेटौंडा एसियाली कप खुला रेटिङ कप बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले जितेका छन् ।

प्रतियोगिताको शीर्ष २३९३ रेटेड खेलाडी सुभयान कुण्डुले नौ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित रहँदा च्याम्पियन भएका हुन् । उनले प्रतियोगिताभर कुल ७.५ अंक जोडे । उनले उपाधिसहित नगद १ लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भए । कुण्डुले अन्तिम खेल बराबरी गरेका थिए ।

नेपाल खेलकुद महासंघ र जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा भएको प्रतियोगितामा ७ अंक जोड्दै दोस्रो स्थानमा बंगलादेशका आईएम मोहमद मिनहाज उद्दिनले नगद ७५ हजार र तेस्रो स्थानमा भारतका एफएम अरबिन्दर प्रितसिं नगद ४० हजार रुपैयाँ जित्न सफल रहे ।

अन्तर्राष्ट्रिय प्रतियोगितामा बंगलादेशका मोहमद सरिफ होसेन, भारतका अमरदीप बर्तके, बंगलादेशका आईएम अबु सुफिन सकिल, एफएम नारिक शेख, भारतका राहुल गुरुङ, एएफएम सौरभ चौबे र भारतका महिला खेलाडी मारियम फातिमा सबैले ६.५ अंक प्राप्त गर्दै चौथोदेखि दशौं स्थानमा समेटिन सफल बनेका छन् ।

हेटौंडा चेस क्लबको व्यवस्थापन रहेको प्रतियोगितामा एफएम नयम हक एघारौं, नेपालका एआईएम शुश्रुत दाहाल बाह्रौं, डेवोस्निक तेह्रौं, आशीष राज चौधौं र भारतका आदित्य बर्टके पन्ध्रौं स्थानमा रहन सफल बनेका छन्।

उत्कृष्ट स्थानीय खेलाडी झिल्के मोक्तान, बेष्ट भेटेरान देव कान्तिलाल प्रथम र नेपालका मोहनसिं प्रधान दोस्रो, उत्कृष्ट महिला खेलाडी श्रीलंकन सचिनी रानासिंघे महिला प्रथम, इसानाभि दोस्रो भइन् ।

विजेता तथा उपविजेता एवम् खेलाडीहरुलाई मकवानपुर जिल्ला बुद्धिचाल संघका अध्यक्ष मनोज श्रेष्ठ, वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तान, नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन, नेपाल खेलकुद महासंघका अध्यक्ष पर्शुराम बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

प्रतियोगितामा करिब नगद ५ लाख ८७ हजार ५ सय रुपैयाँ नगद वितरण गरिएको थियो ।

प्रतियोगिताको निर्देशक धरमबहादुर लामाले समापन समारोहमा आगामी वर्ष जिम नर्म प्रतियोगिता गर्ने घोषणा गरेका छन् ।