२०८३ जेठ २०, बुधबार    

पोताला र पदमपोखरीमा सेमिफाइनल प्रवेश

२०८१ आश्विन ७, सोमबार १८:५४ बजे

जारी जिल्ला लिग फुटबल प्रतियोगितामा एफसी पोताला र पदमपोखरी युवा क्लव सेमिफाइनल प्रवेश गरेको छ ।

सोमबार भएको क्वाटरफाइनलबाट पोतालाले न्यू कम्बाइन क्लवलाई र पदमपोखरीले सक्षम युवा क्लव नेवारपानीलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । पहिलो क्वाटरफाइनलमा पोतालाले कम्बाइनलाई २–१ ले हराएको हो । यद्यपी नियम विपरितको खेलाडी खेलाएको भन्दै कम्बाइनले पोतालाको विरुद्धमा उजुरी दर्ता गराएको छ । यस विषयमा निर्णय हुनै बाँकी रहेको छ ।

दोस्रो खेलमा पदमपोखरीले सक्षमलाई सडनडेथमा हराउँदै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । निर्धारित समय र टाइब्रेकरमा समेत बराबरी भएपछि सडनडेथ मार्फत विजेताको छिनोफानो गरिएको हो । पदमपोखरीको तर्फबाट सोमबहादुर स्याङ्तान, रजक थिङ र विजेश तितुङको प्रहार गोल हुँदा शुकराज घिसिङ, इमामी मोक्तान र मदन थिङले गोल गर्न सकेनन् । सक्षमका निश्चल घलान र सन्देश लामाको प्रहार मात्रै गोल भएको हो । विकल उप्रेती, सविन गिरी, विशाल तामाङ र राज थिङको प्रहार गोल हुन हुन सकेन । जारी प्रतियोगितामा मंगलबार पनि क्वाटरफाइनल चरणको दुई खेल हुनेछ ।

पहिलो खेल गोर्खा ब्वाइज क्लव हेटौंडा र सहीद स्मृति क्लव बागमती गाउँपालिकाको बीचमा हुनेछ भने दोस्रो खेलमा हाँडीखोला यूथ क्लव मनहरी गाउँपालिका र साविक विजेता न्यू डाँफे क्लव खेल्नेछ । यही असोज १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले एकलाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।