२०८१ बैशाख २४, सोमबार    

मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता

२०७९ भाद्र १५, बुधबार १८:०१ बजे

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयमा गत आर्थिक वर्ष २०७८/०७९ मा मकवानपुरका १० वटा स्थानीय तहहरूका २०६ वटा उजुरीहरू दर्ता भएको छ ।

कार्यालयका सूचना अधिकारी विष्णु प्रभा सापकोटाका अनुसार मकवानपुरका स्थानीय तहहरूका अघिल्लो आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएको १०४ वटा र गत आर्थिक वर्षमा दर्ता भएका २०६ वटा गरी  ३१० वटा उजुरीहरू प्राप्त भएको छ । 

उनका अनुसार अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएको मध्येबाट ७५ वटा र गत आर्थिक वर्षमा दर्ता भएको १५२ वटा गरी २२७ वटा उजुरी फछ्र्यौट गरिएको छ । अन्य ८३ वटा उजुरीहरु भने फछ्र्यौट हुन बाँकी रहेको सुचना अधिकारी सापकोटाले बताए । मकवानपुरमा सबैभन्दा हेटौंडा उपमहानगर पछि मनहरी गाउँपालिकाबाट सबैभन्दा बढि उजुरी दर्ता भएको देखिन्छ । उजुरीमा रसिद दुरुपयोग भएका प्रवृतिको उजुरी सबैभन्दा बढी परेको बताएका छन् । आयोगमा सार्वजनिक खरिद र निर्माणसँग सम्बन्धि उजुरी, उपभोक्ता समितिसँग सम्बन्धित उजुरी, प्रशासनिक कार्य र तालिम क्षमता विकास सम्बन्धका उजुरीहरू परेका सूचना अधिकारी सापकोटाको भनाइ छ ।

 

प्रायः सेवा प्रवाह र नदीजन्य पदार्थ उत्खनन् तथा प्राकृतिक स्रोतको उपयोग सम्बन्धित उजुरी आएको उनले बताए । आयोगमा शिक्षा क्षेत्र, सार्वजनिक जग्गाको संरक्षण, सामाजिक सुरक्षा भत्ता, राजश्व चुहावट र अपचलन जस्ता विषयका उजुरीहरू दर्ता भएको सापकोटाले बताए ।