२०८१ बैशाख २५, मंगलबार    

फिल्म ‘कबड्डी ४’को पहिलो गीत सार्वजनिक

२०७८ फाल्गुन २४, मंगलबार ११:२६ बजे
रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’को पहिलो गीत सार्वजनिक भएको छ । सोमवार यूट्युबमा सार्वजनिक भएको ‘केशरी’ बोलको गीतमा एसडी योगीको स्वर, राम अविरल विष्टको शब्द र गायक योगीकै संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका अभिनेता सौगात मल्ल र अभिनेत्री मिरुना मगर फिचर छन् । उनीहरुलाई कृष्ण र राधाको जोडीको रुपमा प्रस्तुत गरिएको छ । 
फिल्ममा अभिनेता दयाहाङ राईको पनि मख्य भूमिका छ । निर्देशक गुरुङ फेरि एकपटक त्रिकोणात्मक प्रेमकथा पस्किएका छन् । गत महिना सार्वजनिक भएको फिल्मको टिजरमा मिरुना र दयाहाङको प्रेममा सौगातको प्रवेशलाई रोचक तरिकाले देखाइएको थियो । यो फिल्मलाई ‘कबड्डी’को अन्तिम सिरिज भनिएको छ । यसैले फिल्मको उप-शिर्षक ‘द फाइनल म्याच’ राखिएको छ ।
 
आउँदो जेठ १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मको कथा निर्देशक गरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । फिल्ममा बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणी नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, सारदा अधिकारी लगायतका कलाकारहरुको पनि अभिनय छ । फिल्मलाई शैलेन्द्र डि. कार्कीले छायांकन गरेका हुन् ।