२०८१ बैशाख १८, मंगलबार    

नयाँ वर्षमा मकवानपुरका पर्यटकीय क्षेत्र भरिभराउ

२०७९ बैशाख १, बिहीबार १३:१३ बजे

नयाँ वर्ष २०७९ सालको पहिलो दिन विहीबार पर्यटकीय क्षेत्रमा घुम्न जानेको लर्को लागेको छ ।

विशेष गरी हेटौंडा आसपासको पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको घुईंचो नै लागेको छ । कोरोना महामारीका कारण दुई वर्षसम्म नयाँ वर्ष मनाउन नपाएका मकवानपुरबासीले यसवर्ष भने दिलखोलेर घुमघाम गरेका हुन् ।

अन्य समयको तुलनामा नयाँ वर्षको पहिलो दिन हेटौंडा–११ स्मारक घुम्नेको भीड बाक्लो रहेको छ । ‘पर्यटकको संख्या एकिन गर्न सकिएको छैन । तर, स्मारक भरिएको छ । ठ्याक्कै संख्या टिकटको विक्री सकिएपछि मात्र थाहा हुन्छ ।’, हेटौंडा–११ स्थित स्मारक व्यवस्थापन समितिका कार्यालय प्रमुख रामचन्द्र न्यौपानेले भने ।

यसैगरी हेटौंडा–१८ मा रहेको गुम्बाडाँडा, मकवानपुर गढी दरबार, पुष्पलाल पार्क तथा त्रिखण्डी क्षेत्रमा पिकनिक खानेको पनि भीड लागेको छ । हेटौंडामा रहेको दुईवटै फिल्म हल पूर्णरुपमा भरिएको हल सञ्चालकले जनाएका छन् ।

मकवानपुरका उत्तरी क्षेत्रमा रहेको दामान, पालुङ, कुलेखानी, मार्खु, चित्लाङ र बज्रबारही क्षेत्र पनि पर्यटकले भरिएको स्थानीयले जनाएका छन् ।

नयाँ वर्षको अघिल्लो दिनबाटै नयाँ वर्षको स्वागतमा हेटौंडाका सांगीतिक कार्यक्रमहरु भएका थिए ।