२०८१ बैशाख २०, बिहीबार    

मंसिर २२ मा हेटौँडामा गुञ्जिँदै नेपथ्य

२०७९ कार्तिक २४, बिहीबार १७:३३ बजे

मानवता प्रवद्र्धनको बीउ रोपिएको ठाउँ मकवानपुरको हेटौँडास्थित भुटनदेवी चौरमा आउँदो मंसिर २२ गते नेपथ्य लाइभ कन्सर्टमा हेटौडाबासीले संगीतको मजा लिने मात्रै होइन एकसाथ मानवीय सेवा पनि गर्न पाउने सुनौलो अबसर जुरेको छ । जुन ठाउँमा मानवसेवा आश्रमको केन्द्रिय कार्यालय समेत रहेको छ ।

अघिपछिका कन्सर्टहरुमा टिकटको शुल्क सिधै आयोजकमा जान्थ्यो तर यो पटकको टिकट मानवीय सेवामा पनि लगानी हुने भएकाले दर्शकहरुलाई एक साथ रमाइलो पनि हेर्न पाइने र समाज सेवा पनि गर्न सकिने दोहोरो फाइदा मिल्नेछ ।  

हेटौडाको लामसुरेधापमा रहेको मानवसेवा आश्रमको भवन निर्माण तथा त्यहाँ आश्रित बेसहाराहरुको संरक्षण र पालन पोषणको सहयोगार्थ उक्त दिन आयोजना गरिएको ‘नेपथ्य लाईभ कन्सर्ट’मा त्यसका मुख्य गायक अमृत गुरुङले लोक÷रक गीतहरु प्रस्तुत गर्नुहुनेछ । कार्यक्रमको तयारी तिब्र भएको र टिकट विक्री थालिएको मानवसेवा आश्रम हेटौँडाले जनाएको छ । साङ्गीतिक कार्यक्रममार्फत आर्थिक सङ्कलन गरी बेसहाराहरुको पालन पोषण र उनीहरुका लागि निर्मित भवनलाई पूर्णता दिन मानवसेवा आश्रमले मुलुकका प्रमुख १० शहरमा गर्न लागेको कन्सर्टअन्तरगत मकवानपुरको यो कार्यक्रम तेस्रो हुनेछ ।

मानवसेवा आश्रमको मुख्य कार्यालयमा हाल मुख्य भवन र लक्ष्मी भवन (स्व. राज्य थापा स्मृति भवन) को निर्माण कार्य सम्पन्न भए पनि बालवालिका आवास, बागबगैँचा, गाइगोठ लगायतका कार्यहरु निर्माणको चरणमा नै छन् । यसरी आश्रमको निर्माण कार्यलाई सम्पन्न गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र लक्ष्मीनारायण र बालगोपालहरुको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनका गर्न कन्सर्ट गर्न लागिएको अध्यक्ष रामजी अधिकारीले बताए । 
हाल मुख्य कार्यालयमा १८ बालक, ३ बालिका, ९४ पुरुष र ७७ जना महिला गरी १९२ जना व्यक्तिहरु आश्रित छन् । लाइभ कन्सर्टको शुरुवात विराटनगरमा मङ्सिर १६ गतेबाट हुनेछ । मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशालापछि २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौरमा कार्यक्रम गरिने छ ।

त्यसपछि २५ गते भरतपुरको क्याम्पाचौरमा, २९ गते नेपालगञ्जको रङ्गशालामा, पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ (रामनगर) मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा नेपथ्य गुञ्जिने छ ।

अन्तिम कार्यक्रमको रुपमा अङ्ग्रेजी नयाँ वर्षको अघिल्लो रात ‘न्यू इयर इभ’ को दिन पौष १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुनेछ ।