२०८१ बैशाख २०, बिहीबार    

आनन्दराम भन्छन् : कांग्रेसबाट म नै मेयरको उम्मेदवार

२०७८ माघ २४, सोमबार १८:१२ बजे

हेटौंडा/ सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरिसकेको छ । आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको माहौल विस्तार सिर्जना हुने क्रममै रहेको छ । तर, जिल्लामा प्रभाव जमाउने ठूला दलका नेताहरु भने आ–आफ्नो तयारीमा आन्तरिकरुपमा जुटिसकेका छन् ।

निर्वाचनको मिति घोषणा भएसँगै जिल्लामा अघिल्लो स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरको मेयरमा ६ सय १५ मतअन्तरले पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार आनन्दराम पराजुलीले यसपटक उम्मेदवारी दिन्छन् वा दिँदैनन् त्यो सवैभन्दा चर्चाका विषय रहेको छ । अघिल्लो निर्वाचनमा पराजुलीले प्राप्त गरेको करिब ७ हजार मत बदर भएको थियो । बदर मतकै कारण उनी पराजित भए । त्यसकारण पनि उनको उम्मेदवारीको विषयमा चर्चा हुनु स्वभाविक हो । हेडम्वा न्युजसँगको कुराकानीमा पराजुलीले भने,‘पार्टीले मलाई हेटौंडाको मेयर बनाउनेमा म पूर्णरुपमा विश्वस्त छु ।’ उनले निर्वाचनको मिति भर्खरै घोषणा भएको र आफूले मेयर टिकटका लागि पार्टीभित्र लविङ्ग गर्ने बताए ।

पराजुली अहिले मकवानपुरे राजनीतिमा कांग्रेसभित्र विस्तारै आफ्नो पकड बलियो बनाइरहेका छन् । कांग्रेस प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनासँग नजिक भएर राजीति गरिरहेका पराजुली निर्वाचनमा पराजित भएपनि हालसम्म निरन्तर पार्टीका गतिविधिमा लागिरहेका छन् । पार्टीभित्र पनि उनको प्रभाव बढ्दो देखिन्छ । जसका कारण उनले पार्टी सभापतिमा उम्मेदवारी घोषणा नै गरेर सम्पर्क कार्यालय स्थापना गरिसकेका छन् । उनी पार्टीको राजीतिमा पनि संस्थापन अर्थात सभापति शेरबहादुर देउवा निकटका पात्र हुन् ।

पराजुलीले लामो समयदेखि मेयरमा उम्मेदवारी दिने तयारीस्वरुप तत्कालिन समयमा हेटौंडामा उपमहानगरका वडामा विजयी भएका अध्यक्षहरुलाई पनि साथमा लिएर विभिन्न सार्वजनिक कार्यक्रममा उपस्थित भइरहेको देखिन्छ ।