२०८१ श्रावण १२, शनिबार    

मुख्यमन्त्री जम्कट्टेलले ‘हनिमुन पिरियड’ का उपलब्धि सार्वजनिक गर्दै

२०८० बैशाख ४, सोमबार १६:३० बजे

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आफ्नो कार्यकालको सय दिनको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका छन् ।

गत पुस २५ गते सरकारको बागडोर सम्हालेका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो  सदस्य जम्कट्टेलले सय दिनमा गरेका कामहरूको उपलब्धि सार्वजनिक गर्ने तयारी गरेका हुन् ।

उनले आगामी वैशाख ६ गते आफ्नो कार्यकालको हनिमुन पिरियडमा भएका कामहरूको उपलब्धि सार्वजनिक गर्ने तयारी भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशको मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको अवस्थामा मुख्यमन्त्री जम्कट्टेल भने आफ्नो कार्यकालको सय दिने उपलब्धि सार्वजनिक गर्नतर्फ सक्रिय भएका छन् ।

गत पुस २५ गते संसद्को दोस्रो कार्यकालमा प्रदेशको चौथो मुख्यमन्त्रीको रूपमा उनले नियुक्ति लिएका थिए । तत्कालीन समयमा नेकपा एमाले, राप्रपा, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थनमा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतासमेत रहेका जम्कट्टेल मुख्यमन्त्री नियुक्त भएका थिए । उनले पुस २६ गते मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए भने सोही दिन एमाले र राप्रपाका एक/एक जना सांसदलाई मन्त्रिपरिषदमा नियुक्त गरेका थिए ।