२०८१ बैशाख १५, शनिबार    

मनहरीमा प्रधानाध्यापकलाई ‘प्रोत्साहन रकम’

२०८० चैत्र १५, बिहीबार १६:५१ बजे

मनहरी गाउँपालिकाले प्रधानाध्यापकहरुलाई कार्यसम्पादनको आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । पालिकाले प्राथमिक विद्यालयका प्रधानाध्यापकसँग कार्यसम्पादन सम्झौता गर्दै यसै शैक्षिक सत्रबाट उक्त नियम लागू गर्ने भएको हो ।

विद्यालय शिक्षाको पहिलो खुड्किलोको रुपमा रहेको प्राथमिक तहका विद्यालयबाटै यस क्षेत्रको सुधारका लागि पालिकाले प्रोत्साहन रकमसहित यस कार्य अगाडि बढाएको गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले बताए । उनका अनुसार विद्यालयले विभिन्न १५ वटा बुँदाहरुमा स्वमूल्यांकन गरी पठाएको विवरणका आधारमा प्रोत्साहन रकम वितरण गर्न लागिएको हो ।

‘विद्यार्थीको शैक्षिक उपलब्धिलाई प्राथमिकतामा राखेर १५ वटा बुँदा तयार पारेका छौं । उहाँहरुको स्वमूल्यांकन प्रतिशतका आधारमा प्रोत्साहन रकम उपलब्ध गराउने छौं,’ उनले भने ।

कार्यसम्पादन सम्झौताअनुसार प्रधानाध्यापकले वार्षिक शैक्षिक कार्ययोजना तथा कार्यतालिका निर्माण गर्नुपर्ने हुन्छ । विद्यालय सुधारका योजना निर्माण, लेखा र सामाजिक परीक्षण, सबै शिक्षकसँग शिक्षण सुधार करार, विद्यार्थी–शिक्षक विवरण इएमआइएसमा भर्नुपर्ने, विद्यालयको समग्र नतिजा विश्लेषण गर्नुपर्ने लगायतका कार्यका आधारमा कार्यसम्पादन अंक प्राप्त हुनेछ । प्रअको उपस्थिति, शिक्षक विद्यार्थीको आचारसंहिता तयार र विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा पनि कार्यसम्पादन अंक प्राप्त गर्ने सामाजिक विकास समितिका संयोजक अनन्तप्रकाश अर्यालले जानकारी दिए ।

कार्यसम्पादन मूल्यांकनअनुसार ० देखि ४० प्रतिशत प्राप्त गर्ने विद्यालयका प्रधानाध्यापकले कुनै रकम पाइने छैन । ४० देखि ६० प्रतिशतलाई २० हजार रुपैयाँ, ६० देखि ८० प्रतिशत २२ हजार रुपैयाँ र ८० देखि १०० प्रतिशत कार्यसम्पादन अंक प्राप्त गर्नेलाई २४ हजार रुपैयाँ रकम वितरण गरिने शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीले जानकारी दिए ।