२०८१ बैशाख ८, शनिबार    

महासंघलाई विद्यालय कर्मचारीको आन्दोलनको अपनत्व लिन ध्यानाकर्षण

२०७९ भाद्र १२, आईतबार १३:०४ बजे

आफ्नो पेशागत हितका लागि विद्यालय कर्मचारीले आव्हान गरेको आन्दोलनमा शिक्षक महासंघ मकवानपुर जिल्ला समितिले ऐक्यवद्धता जनाएको छ । महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकाल र सचिव राजु गौतमले संयुक्त हस्ताक्षर गरी विद्यालय कर्मचारीको आन्दोलनमा ऐक्यवद्धता जनाएको हो ।

शिक्षक महासंघले विद्यालय कर्मचारीका जायज माग यथाशिघ्र पूरा गर्न नेपाल सरकारसँग माग गरेको छ । विद्यालय कर्मचारीको सन्दर्भमा यसअघि नेपाल शिक्षक महासंघसँग सरकारले पटक पटक गरेको सम्झौताको पालना गर्न पनि महासंघले आग्रह गरेको छ । महासंघ मकवानपुरले महासंघको केन्द्रीय समितिलाई पनि विद्यालय कर्मचारीको आन्दोलनको अपनत्व लिन ध्यानाकर्षण गराएको छ ।

विद्यालय कर्मचारीले आफ्ना माग पूरा गराउन आइतबार (आज) देखि विद्यालयमा पठनपाठन बन्द गर्ने आन्दोलन गरिरहेका छन् । विद्यालय कर्मचारीको आन्दोलनप्रति विद्यालयका प्रधानाध्यापकहरुले समर्थन समेत गरेका छन् । सरकारले विद्यालय कर्मचारीको रुपमा लेखापाल र कार्यालय सहयोगीको व्यवस्था गरे पनि उनीहरुको स्थायी दरबन्दीको परिकल्पना गरेको छैन । विद्यालय कर्मचारी न्यूनतम पारिश्रमिकमा काम गर्न बाध्य छन् ।