२०८० चैत्र १६, शुक्रबार    

वाग्मतीमा लागूऔषध र यौनजन्य हिंसाका घटना बढ्दो

२०७९ श्रावण २६, बिहीबार ०८:३९ बजे

वाग्मती प्रदेशभित्र लागूऔषध र यौनजन्य अपराधका घटना बढ्दो क्रममा रहेको देखिएको छ । वाग्मती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांक अनुसार काठमाडौं, ललितपुर र भक्तपुरबाहेक प्रदेशको बाँकी जिल्लामा लागूऔषध प्रयोग, ओसारपसार र बिक्री वितरणको घटना वर्षेनि बढ्दो अवस्थामा देखिएको छ ।

कार्यालयका वरिष्ठ प्रहरी नायव उपरीक्षक दीपक रेग्मीका अनुसार आर्थिक वर्ष २०७७/०७८ को तुलनामा आव २०७८/०७९ मा लागूऔषध अपराधका घटना २८ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा मात्र प्रदेशभर १८ वटा लागूऔषध प्रयोग तथा ओसारप्रसारका घटना र ११ वटा यौन हिंसा (जबर्जस्ती करणी) सम्बन्धी घटना विभिन्न जिल्लामा भएका छन् ।

आव २०७६/०७७ मा लागूऔषध सम्बन्धी २७० वटा घटना भएको थियो भने जबर्जस्ती करणीका २५६ वटा घटना दर्ता भएका थिए । आव २०७७÷०७८ मा लागूऔषध २६० वटा र जबर्जस्ती करणीका ३०७ वटा घटना भएका छन् । गतआवमा लागूऔषधका घटनामा उच्च वृद्धि भएको देखिन्छ । यस आर्थिक वर्षमा ३३४ वटा लागूऔषध सम्बन्धी र जबर्जस्ती करणीका २६५ वटा घटनामा भएका छन् ।

‘खुला सीमा र नाकालाई सुरक्षित गर्न नसक्दा लागूऔषध सम्बन्धी अपराधका घटना बढिरहेको छ’, उनले भारतका विभिन्न सीमाबाट आयात हुने सिन्थेटिक ड्रगहरूलाई रोक्न नसक्दा धेरै अपराध बढिरहेको औंल्याए । ‘भारतका सीमाबाट आयात हुने त्यस्ता कस्मेटिक ड्रगहरूलाई नाकाहरूमा नै रोक्न सक्ने अवस्था बन्न नसकेसम्म अपारध घट्ने देखिँदैन ।’

उनले यस प्रदेशको विभिन्न जिल्लामा प्रतिबन्धित लागूऔषध गाँजा, अफिम र चरेस उत्पादन र बिक्री वितरण समेत हुने गर्दा यस सम्बन्धी मुद्दा बढी भएको हो ।

पछिल्लो समयमा यौनजन्य हिंसा घटना वर्षेनि बढ्दो क्रममा रहेको उनले बताए । विशेषगरी आफन्त, प्रेमीप्रेमिका र साथीबाट यौनजन्य घटनाहरू बढिरहेको बताए । प्रविधिको गलत प्रयोगका कारण पनि यौनजन्य घटना बढेको हो । ‘पारिवारिक विखण्डन र वैदेशिक रोजगारका कारण दैनिक रुपमा सम्बन्ध विच्छेद (डिभोर्स)का मुद्दाहरूमा पनि वृद्धि भइरहेको छ ।’, उनले भने ।

आव २०७७/०७८ को तुलनामा गत आवमा १ दशमलव ४० प्रतिशतले अपराध सम्बन्धी मुद्दा बढेको कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्माष प्रदेशभर अपराधसम्बन्धी ४ हजार ३४३ मुद्दा दर्ता भएको थियो भने गतआवमा ४ हजार ४०५ मुद्दा दर्ता भएका थिए । आर्थिक वर्ष २०७६/०७७ को तुलनामा भने गतआवमा २०७८/२०७९ मा मुद्दा दर्ता संख्या घटेको छ । आव २०७६/०७७ मा ४ हजार ५९४ वटा अपराध सम्बन्धी मुद्दा दर्ता भएकोमा गत आवमा भने ४ हजार ४०५ वटा मुद्दा दर्ता भएको कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार गत आवमा अपराध सम्बन्धी ४ हजार ४०५ वटा मुद्दा दर्ता भएकोमा २ हजार ५११ वटा फछ्र्योट गरिएको छ भने १ हजार ८९४ वटा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेको छ । अघिल्लो आवमा २०७७/०७८ मा दर्ता भएका ४ हजार ३४३ वटा मुद्दामध्ये २ हजार ३६६ वटा फर्छ्योट गरिएको थियो भने १ हजार ९७७ वटा मुद्दा गतआवमा लागि जिम्मेवारी सरेर आएको थियो ।