२०८१ बैशाख २१, शुक्रबार    

किन हाने मैनालीले चिर्पट ?

२०८० आश्विन १२, शुक्रबार १४:१६ बजे

हेटौंडामा एक व्यक्तिले चिर्पट प्रहार गरी परिवारको तीनजनालाई गम्भीर घाइते बनाएका छन् ।

हेटौंडा उपमहानगरपालिका–३ भुलनटोलका ५० वर्षीय बद्रीनाथ मैनालीले चिर्पट प्रहार गर्दा उनकै परिवारका तीनजना घाइते भएका हुन् । घाइते हुनेमा ७३ वर्षीय रामजी मैनाली, ६५ वर्षीया माया मैनाली र ४० वर्षीय केदार मैनाली रहेका छन् । घाइतेहरू चिर्पट प्रहार गर्ने बद्री मैनालीका बाबु, आमा र भाइ रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

प्रहरीका अनुसार चिर्पट प्रहारबाट बाबु रामजीको दायाँ हात र कुहिनोमा चोट लागेको छ भने आमा मायाको टाउको तथा भाइ केदारको हातमा चोट लागेको छ । घाइतेमध्ये मायालाई थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको प्रहरीले बताएको छ । बाँकी दुईजनाको हेटौंडामै उपचार भैरहेको छ ।

चिर्पट प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको कारण भने नखुलेको प्रहरीको भनाई छ ।