२०८० चैत्र १६, शुक्रबार    

फैलियो मङ्कीपक्स भाइरस

२०७९ जेठ ११, बुधबार ११:३९ बजे

थप तीन देशमा फैलियो मङ्कीपक्स भाइरस संयुक्त अरब इमिरेट्स (युएई)मङ्कीपक्सको केस रेकर्ड गर्ने पहिलो खाडी मुलुक बनेको छ । चेक गणतन्त्र र स्लोभेनियाले पनि मङ्गलवार आफ्नो पहिलो केस रिपोर्ट गरेका छन् । अफ्रिका बाहिर १८ अन्य देशहरूमा यो भाइरस फैलिसकेको छ ।

त्यो सङ्ख्या अझै बढ्ने अपेक्षा गरिएको छ, तर विज्ञहरूले भने सामान्य जनसङ्ख्याको लागि समग्र जोखिम कम रहेको बताएका छन्। युरोप, अस्ट्रेलिया र अमेरिकामा भाइरसको प्रकोप भेटिएको छ। यसका लक्षणहरूमा अक्सर ज्वरो र शरीरमा दागहरू समावेश हुन्छन् ।

तर सङ्क्रमण सामान्यतया हल्का हुन्छ। युएईका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसालै पश्चिम अफ्रिका भ्रमण गरेका एक यात्रीमा यसको सङ्क्रमण देखिएको र अहिले उनको उपचार भइरहेको छ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार हालसम्म ८० जनालाई ‘मङ्कीपक्स भाइरस’ पुष्टि भइसकेको छ भने ५० जना शङ्कास्पद बिरामी छन् । युके हेल्थ सेक्युरिटी एजेन्सीका अनुसार मङ्कीपक्स भाइरसको पहिलो बिरामी अफ्रिकी मुलुक नाइजेरियाबाट आएका थिए ।  विश्व स्वास्थ्य सङ्गठनले हालसम्म मङ्कीपक्स भाइरस ११ राष्ट्रमा फैलिइसकेको जानकारी दिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले अफ्रिकी मुलुक, युरोप तथा अमेरिका र बेलायतमा समेत मङ्कीपक्स फैलिएको जानकारी दिँदै नेपालमा सतर्कता अपनाउनुपर्ने बताएका छन् । उनले मङ्कीपक्स भाइरस नेपालमा भित्रन नदिन हालसम्म खास तयारी भने नभएको बताए । डा. पुनका अनुसार मङ्कीपक्सको विशेष औषधि छैन तर एन्टिभाइरल भ्याक्सिन प्रयोग गर्न सकिन्छ ।