२०८१ बैशाख १५, शनिबार    

११ करोड घट्यो उपमहानगरको बजेट

२०८० असार २, शनिबार १०:३८ बजे

बढ्दो आर्थिक मन्दी र घट्दो राजस्व संकलनलाई मध्यनजर गर्दै हेटौंडा उपमहानगरपालिकाले आफ्नो बजेटको आकार घटाएको छ ।
उपमहानगरले चालु आवको तुलनामा ११ करोड रुपैयाँ कम बजेट विनियोजन गरी आगामी आव २०८०/०८१ को बजेट सार्वजनिक गरेको छ । शनिबार उपमहानगरको १३ औं नगरसभामा हेटौंडा उपमहानगरले आगामी आवर्षका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको हो ।
हेटौंडाका उपमेयर राजेश बानियाँका अनुसार अनुमानित बजेटमध्ये खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँडबाट ५९ करोड १४ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ ।
उपमहानगरको १३ औं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन गरिएको छ ।
उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, हेटौंडा–४ मा बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख, अटो भिलेज निर्माण गर्न ८० लाख, पिप्लेक्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर बानियाँले जानकारी दिए । वडा गौरवको योजनाका लागि ३ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।