२०८१ बैशाख २१, शुक्रबार    

हेटौंडामा सडक खाना महोत्सव सुरु

२०८० पौष १३, शुक्रबार १८:५१ बजे

हेटौंडामा सडक खाना महोत्सव सुरु भएको छ । शुक्रबारदेखी हेटौंडा ४ हुप्रचौरको पुर्वक्षेत्रको सडकमा खाना महोत्सव सुरु भएको हो ।

मकवानपुर होटल एशोसिएसनको आयोजनामा भएको महोत्सवको शुक्रबार हेटौंडा उपमहानगरका नगर प्रमुख मीना कुमारी लामाले उद्घाटन गरेकी छिन् । उद्घाटन गर्दै प्रमुख लामाले स्थानीय उत्पादित वस्तुको विभिन्न परिकारलाई प्रवद्र्धन गर्न खाना महोत्सवले थप टेवा पुग्ने बताईन् । 

उनले केही वर्ष देखी रोकिएको सडक खाना महोत्सव यस वर्षबाट निरन्तरता दिइएकोले हेटौंडा र आसपासका होटल व्यवसायी र स्थानीय उत्पादित वस्तुहरुको परिकार विक्री गर्ने व्यवसायीहरुलाई व्यवसायमा थप उर्जा मिल्ने बताइन् । एशोसिएसनका कार्यबहाक अध्यक्ष विष्णु गोपाल महर्जनको सभाध्यक्षतामा महोत्सवको उद्घाटन गरिएको थियो । 

कार्यक्रममा हेटौंडा उपमहानगरका उपप्रमुख राजेश बानियाँ, १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने, ६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, ९ का वडाध्यक्ष सुकराम केसी, ८ का वडाध्यक्ष रामकृष्ण थापा, १७ का वडाध्यक्ष उद्धव सत्याल, मकवानपुर उद्योग वाणिज्य संघका कार्यबहाक अध्यक्ष अनिल अग्रवाल, उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेल, निर्माण व्यवसायी संघका अध्यक्ष बालगोपाल कंडेल, एशोसिएसनका संस्थापक अध्यक्ष भगिरथि शर्मा, होटल महासंघका केन्द्रीय सदस्य शंकरलाल श्रेष्ठ, प्रदेश उपाध्यक्ष निप्पु सरार्फ, पत्रकार महासंघ जिल्ला अध्यक्ष मणिराज गौतम, राप्रपाका कार्यबहाक अध्यक्ष सागर थापा लगायत विभिन्न व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो । 

तीन दिन सम्म सञ्चालन हुने महोत्सवमा शाहाकारी र मांसाहारीका परिकारका स्टलहरु रहेका छन् । नयाँ वर्ष २०२४ लाई स्वागत गर्दै महोत्सवको आयोजना गरिएको हो । महोत्सव शनिबार र आइतबार पनि लाग्ने छ ।