२०८० चैत्र १६, शुक्रबार    

राप्रपा नेपालले एक जना पनि उम्मेदवार उठाउन सकेन

२०७९ बैशाख २१, बुधबार १३:२४ बजे

अध्यक्षकै जिल्लामा उम्मेदवारविहीन राप्रपा नेपाल लिङ्देन नेतृत्वको राप्रपाले हेटौंडा उपमहानगरपालिकामा प्रमुख–उपप्रमुखसहित सबै वडामा उम्मेदवारी दिँदा थापाको राप्रपा नेपालले एक जना पनि उम्मेदवार उठाउन सकेन । राप्रपा होस् वा राप्रपा नेपाल, विगतका निर्वाचनमा मकवानपुर जिल्लामै कमल थापा रहेको पार्टीको प्रभावशाली उपस्थिति रहन्थ्यो । २०५६ को निर्वाचनमा मकवानपुर–१ बाट निर्वाचित भएका थापा ४ पटक निकटम प्रतिद्वन्द्वी बने । पछिल्लो समय राप्रपा छोडेर राप्रपा नेपालको अध्यक्ष बनेका उनै थापा यस पटकको निर्वाचनमा गृहनगरमै निरीह देखिन्छन् ।

राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले हेटौंडामा प्रमुख–उपप्रमुखसहित सबै वडामा उम्मेदवारी दिँदा थापाको पार्टीले एक जना पनि उम्मेदवार उठाउन सकेन । थापाकै प्रभावबाट हेटौंडा उपमहानगरका साथै मकवानपुर जिल्लाभर राप्रपाको जनमत निर्माण भएको मानिन्छ । २०६३ मा थापाले राप्रपा नेपाल गठन गर्दा उक्त जनमत उनकै पछि लागेको थियो । २०७६ मा राप्रपासँग एकीकरण भएपछि मकवानपुरमा थापाको प्रभाव थप बलियो बन्यो । ‘तर अहिले उहाँले धैर्य गर्न सक्नुभएन, पार्टी छाडेर जानुभयो,’ राप्रपाका जिल्ला अध्यक्ष शिवराम थापा भन्छन्, ‘तैपनि हामीले उहाँको विरासत बचाइदिएका छौं ।’

शिवरामले भनेझैं थापाले आर्जन गरेको राजनीतिक विरासत अहिले राप्रपामै देखिन्छ । गत निर्वाचनमा मेयरमा प्रतिस्पर्धा गरेका मधुकरप्रसाद अधिकारी र उपप्रमुखकी उम्मेदवार इन्दिरा न्यौपाने राप्रपामै छन् । यस पटक राप्रपाले उपमहानगरमा प्रमुख र उपप्रमुखसहित २९ वटै वडामा उम्मेदवार उठाएको छ । राप्रपा नेपालले भने एमालेलाई समर्थन गरेको छ । उक्त पार्टीका अध्यक्ष गुरु सापकोटाका अनुसार हेटौंडा उपमहानगरका साथै अन्य पालिकामा एमालेसँग चुनावी गठबन्धन गर्ने प्रयास भएको थियो । एमालेले मागेजति भाग नदिएपछि उम्मेदवारीमा तालमेल हुन सकेन । ‘तैपनि हामीले केन्द्रको निर्देशनअनुसार निःसर्त रूपमा एमालेलाई सहयोग गर्ने निर्णय गरेका छौं,’ सापकोटाले भने ।

हेटौंडामा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच चुनावी गठबन्धन बनेको छ । प्रमुखमा एकीकृत समाजवादीकी मीनाकुमारी लामा र उपप्रमुखमा कांग्रेसका राजेश बानियाँ उम्मेदवार छन् । एमालेका तर्फबाट प्रमुखमा पूर्वसांसद अनन्त पौडेल र उपप्रमुखमा सुमित्रा काफ्ले उम्मेदवार छन् । एक्लै चुनावी मैदानमा उत्रेको राप्रपाले प्रमुखमा दीपकबहादुर सिंह र उपप्रमुखमा इन्दिरा न्यौपानेलाई उठाएको छ ।

 
राप्रपाका पुराना नेता सिंह २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालीन हेटौंडा नगरपालिका प्रमुख र २०७० मा मकवानपुर–२ बाट संविधानसभा सदस्यमा लडेका थिए । दुइटै निर्वाचनमा उनले दोस्रो मत ल्याएका थिए । गत स्थानीय तह निर्वाचनमा उपप्रमुखमा प्रतिस्पर्धा गरेकी न्यौपाने ७ हजार ७ सय २ मत ल्याएर तेस्रो भएकी थिइन् । उतिबेला कांग्रेस र माओवादीका साझा उम्मेदवार बलराम बलले १७ हजार ११ मत ल्याएर दोस्रो भएका थिए । एमाले (हाल एकीकृत समाजवादी) की मीनाकुमारी लामा २३ हजार ४ सय ३७ मत ल्याएर उपप्रमुखमा विजयी भएकी थिइन् ।

पञ्चायतको नर्सरीबाट हुर्केका ६७ वर्षीय थापा जहिल्यै शक्ति अभ्यास गर्ने राजनीतिक खेलाडीका रूपमा परिचित छन् । गत मंसिरमा सम्पन्न पार्टीको निर्वाचनमा लिङ्देनसँग पराजित भएपछि राप्रपा नेपाल पुनर्गठन गरेका उनले स्थानीय तह निर्वाचनमा भने आफ्नै गृह जिल्लामा साथ नपाएका हुन् । विगतमा उनीसँग रहेका मकवानपुरका कार्यकर्ता थापा आफ्नै कारणले एक्लिएको बताउँछन् । ‘जिल्लाका नेतालाई कहिल्यै माथि जान दिएन, अवसर जति कि आफूले लिए कि त आफ्नो परिवारका सदस्यलाई दिए,’ राप्रपाका एक कार्यकर्ताले भने, ‘त्यसमाथि लोकतान्त्रिक प्रक्रियाबाट भएको पार्टीको चुनावमा पनि हार सहन नसकेर पार्टी छाडेका हुन् ।’

ती कार्यकर्ताका अनुसार थापासँग रुष्ट नेता–कार्यकर्ताको ठूलो समूहले पहिल्यैदेखि उनको साथ छाड्न खोजिरहेको थियो । उनीहरूका लागि पार्टी विभाजन र थापाको बहिर्गमन उपयुक्त अवसर बन्यो । प्रजातन्त्र पुनःस्थापनापछि ६ वटा आमनिर्वाचन भएकामा थापा मकवानपुरबाट पाँच पटक चुनाव लडे । २०७० को संविधानसभा निर्वाचनमा मात्र आफू समानुपातिकमा गएर आफ्नो क्षेत्रबाट श्रीमती प्रमिला थापालाई लडाए । सोही निर्वाचनमा भाइ गणेश थापा समानुपातिक उम्मेदवारमा समेटिएका थिए ।

राप्रपा नेपालका अध्यक्ष सापकोटा भने राप्रपामा रहेका नेता–कार्यकर्ता पनि थापाको विरोधमा जान नसक्ने बताउँछन् । एमालेसँग कुरा मिलेर संयुक्त उम्मेदवारी हाल्न सक्ने वातावरण नबनेपछि अधिकांशले राप्रपाबाटै उम्मेदवारी दर्ता गरेको उनको भनाइ छ । ‘अन्यत्र जे भए पनि मकवानपुरमा राप्रपा र राप्रपा नेपालका कार्यकर्ताले भोलि उहाँ ९थापा० कै नेतृत्वलाई स्वीकार्ने सम्भावना छ,’ उनले भने, ‘त्यसैले हामीले राप्रपामै रहेर उम्मेदवार बन्न चाहने साथीहरूलाई रोक्न सकेनौं ।’ एमालेले अन्तिम समयमा धोका दिँदा पार्टीका तर्फबाट उम्मेदवारी हाल्ने अवस्था नबनेको उनले बताए । यसका साथै पार्टी पुनर्गठन भएको छोटो समयमा स्थानीय तहको निर्वाचन घोषणा हुँदा नेता–कार्यकर्तालाई संगठित गर्न नसकिएको उनको भनाइ छ ।

राप्रपा नेपालका एक नेताका अनुसार सकेसम्म एमालेसँग तालमेल गर्ने, त्यो सम्भव नभए सूर्य चिह्न लिएरै राप्रपाबाट उम्मेदवार उठाउने पार्टीको तयारी थियो । एमालेले भने आफ्नो चुनाव चिह्न दिएर पनि राप्रपाका मान्छेलाई उम्मेदवार बनाउन मानेन । यति हुँदा पनि निःसर्त एमालेलाई सहयोग गर्नुको पछाडि थापाको स्वार्थ आगामी संसदीय निर्वाचन रहेको उनीनिकट एक नेताले बताए ।

२०७४ को निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर मकवानपुर–१ बाट निर्वाचन लडेका उनी आगामी निर्वाचनमा एमालेको सहयोग लिने योजनामा छन् । ‘यसका लागि उहाँले स्थानीय तह निर्वाचनमा एमालेलाई निःसर्त गुन लगाउने रणनीति बनाएको हो,’ ती नेताले भने, ‘यसका लागि स्थानीय तहमा नील भए पनि उहाँ स्वीकार्न तयार हुनुभएको हो ।’

गृह जिल्लामै आफ्नो पार्टीलाई स्थानीय तह निर्वाचनको प्रतिस्पर्धाबाट बाहिर राखेका राप्रपा नेपालका अध्यक्ष थापा भने यस अवस्थाबारे बोल्न चाहँदैनन् । उनले काठमाडौंमै एमालेलाई समर्थन गर्ने निर्णय गरेर जिल्लामा निर्देशन पठाएका हुन् । ‘साथीहरू लागिरहनुभएको छ, मैले यसबारे अहिले प्रतिक्रिया दिन उचित हुँदैन,’ उनले कान्तिपुरसँग भने ।

थापाले एमालेलाई समर्थन गरे पनि राप्रपाको उम्मेदवारीले हेटौंडा उपमहानगरपालिकाको चुनावी नतिजालाई प्रभावित पार्ने अवस्था छ । हेटौंडामा प्रमुख प्रतिस्पर्धा पाँचदलीय सत्ता गठबन्धन र एमालेबीच रहे पनि राप्रपाको उम्मेदवारीले नतिजा प्रभावित गर्ने देखिएको छ । राप्रपा नेपालले एमाले उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरे पनि स्थानीय जनमत राप्रपातिर आकर्षित भएको देखिन्छ । दुई दलबीच केन्द्रमा तिक्तता भए पनि स्थानीय मतदाता ‘एउटै पार्टी’ को मनोविज्ञानमा देखिन्छन् ।

प्रमुखमा कांग्रेसको उम्मेदवार नरहेकाले उक्त पार्टीका सहरी क्षेत्रका मतदाता राप्रपातर्फ आकर्षित हुन सक्ने राजनीतिक विश्लेषक अधिवक्ता केशव काफ्ले बताउँछन् । ‘कमल थापाको पार्टीले एमालेलाई समर्थन गरे पनि राप्रपाको परम्परागत जनमत आफ्नै पार्टीमा रहन सक्छ,’ उनले भने, ‘यसको असर गठबन्धन र एमाले दुइटालाई कति मात्रामा पर्छ भन्न सकिने अवस्था छैन ।’

हेटौंडाको राजनीतिमा पुरानो अनुहार भए पनि प्रमुखका उम्मेदवार सिंह काठमाडौंमै बस्छन् । व्यापार–व्यवसायमा संलग्न उनले राप्रपाका भोट जोगाउँदै राप्रपा नेपाल र कांग्रेसका भोट तान्ने रणनीति बनाएका छन् । गत स्थानीय चुनावमा राप्रपाका उम्मेदवारले करिब ७ हजार मत ल्याएका थिए । पछिल्लो समय आन्तरिक झगडाका कारण मकवानपुर कांग्रेसमा एकता छैन । यसको फाइदा पनि लिने प्रयास सिंहले गरिरहेका छन् ।