२०८१ बैशाख १२, बुधबार    

माओवादीका शालिकरामले मुख्यमन्त्रीको दावी पेश गर्दै

२०७९ पौष २५, सोमबार ०८:२८ बजे

आमनिर्वाचन सकिएको ५० औं दिन आज सोमबार वाग्मती प्रदेशले नयाँ मुख्यमन्त्री प्राप्त गर्दैछ ।

प्रदेश प्रमुखले सरकार गठनका लागि आव्हान गरेको समय सीमा दिउँसो ४ बजे सकिँदैछ । निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिनभित्र सरकार गठन गरिसक्नु पर्ने संवैधानिक प्रावधान अनुसार गतविहीबार प्रदेश प्रमुख यादबचन्द्र शर्माले संविधानको धारा १६८ को उपधार २ अनुसार नयाँ सरकारको मुख्यमन्क्री नियुत्त गर्न ५ दिनको समय सीमा उपलब्ध गराएका थिए ।

प्रदेश प्रमुखले दिएको समय सीमा घर्किदै जाँदा प्रदेशको मुख्यमन्त्रीका लागि दलहरुवीच सहमति भएको छ । केन्द्रीय तहमा भएको सहमति अनुसार वाग्मतीको मुख्यमन्त्री माओवादी केन्द्र संसदीय दलका नेता शालिकराम जम्मकट्टेल हुने भएका छन् ।

उनले दिउँसो २ बजे प्रदेश प्रमुख समक्ष दावी पेश गर्ने माओवादी केन्द्रका सांसद प्रेमबहादुर पुलामीले जानकारी दिए । ‘आज हस्ताक्षरसहित दावी बुझाउने हो । हस्ताक्षर पहिल्यै संकलन भइसकेको छ ।’, उनले भने ।

केन्द्रीय सहमति अनुसार वाग्मतीको सभामुख राप्रपा र उपसभामुख एमालेले प्राप्त गर्नेछ ।