२०८१ बैशाख १६, आईतबार    

एमालेले दोबाटेसँग पनि गठबन्धन गर्‍यो : बानियाँ

२०७९ जेठ १३, शुक्रबार १२:४८ बजे

नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले नेकपा एमालेले स्थानीय तह निर्वाचनमा दोबाटेसँग पनि गठबन्धन गरेको आरोप लगाएका छन् ।

शुक्रबारबाट सुरु भएको प्रदेशसभाको दशौं अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै उनले सत्तारुढ गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको समयमा देखिएको माहौलबाट डराएर एमालेले जोसँग पनि चुनावी तालमेल गरेको आरोप लगाएका हुन् ।

‘भन्नलाई हामी एक्लै लड्यौ भनेका छौं । तर, नौवटा दल मिलेको सवैलाई थाहा छ । कतै कमल थापा, कतै राजेन्द्र लिङ्देनसँग मिलेको हामीलाई थाहा नै छ । गठबन्धन गर्ने पार्टी नै नपाएपछि दोबाटेसँग पनि एमालेले तालमेल गर्‍यो’, उनले भने ।

उनले एमालेको बोली र व्यवहार ठिक नभएका कारण अहिलेको अवस्था सिर्जना भएको बताए । संघ र प्रदेश सरकार चारवर्ष सञ्चालन गर्दा एमालेले जनताप्रति इमान्दार भएर काम नगरेका कारण जनताले गठबन्धन रोजेको बानियाँको भनाइ छ ।

‘गठबन्धनमा रहेका भर्खरै बनेको दलले पनि महानगरको नेतृत्व पाएको छ ।’, उनले भने,‘धेरै बोल्ने, कुरो धेरै गर्ने, काम नगर्ने र जनताप्रति उत्तरदायि नभएका कारण जनताले एमालेलाई भोट दिएनन् ।’