२०८१ जेठ ४, शुक्रबार    

मकवानपुरमा अफिम खेती बढ्दो, प्रतिकेजी २ लाख ५० हजार

२०७८ चैत्र १, मंगलबार १३:१२ बजे

सरकारले गाँजा खेतीलाई वैधानिकता दिने प्रयास गरिरहँदा मकवानपुरमा भने पछिल्लो समय अफिम खेती मौलाउन थालेको छ । यसअघि गाँजा खेती गर्ने किसानहरु अहिले अफिम खेती गर्न थालेका हुन् ।

विशेषगरी जिल्लाको पश्चिमी क्षेत्रमा अफिम खेती मौलाउन थालेको हो । २–३ वर्ष अघिदेखि सुरु भएको अफिम खेतीले गाँजालाई विस्थापित गर्ने अवस्थामा पुगिसकेको छ । अफिमको मूल्य महँगो र ढुवानी गर्न सहज हुने भएकाले लागूऔषध तस्करको उक्साहटमा मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश भागमा अफिम खेती मौलाएको छ ।

लागूऔषध ब्युरो काठमाडौं, वाग्मती प्रदेश दंगा नियन्त्रण हेटौंडा र जिल्ला प्रहरी कार्यालय हेटौंडाको संयुक्त प्रहरी टोली राक्सिराङ, कैलाश र वाग्मती गाउँपालिकामा गाँजा र अफिम खेती नष्ट गरेका छन् । एक महिना अगाडि गाउँमा गाँजा नष्ट गर्न गएको प्रहरी टोली बढ्दो अफिम खेती देखेपछि अचम्मितहुँदै पुन: अभियान चलाउन बाध्य भएको थियो ।

माघको अन्तिम सातादेखि फागुनको पहिलो सातासम्म अफिमको फूल फूल्छ । त्यही फूललाई चिरेर चोप निकालेर संकलन गर्ने गरिन्छ । एक कठ्ठा खेतबारीमा लगाएको अफिमको बोटबाट एक केजीभन्दा बढी अफिम उत्पादन हुन्छ । गतवर्ष अफिम प्रतिकेजी २ लाख ५० हजार रुपैयाँमा बिक्री भएको स्थानीयले बताएका छन् ।

गाँजा भन्दा बढी अफिमबाट आम्दानी हुने भएपछि विस्तारै गाउँमा अफिम खेती मौलाएको उनीहरुले बताएका छन् ।