२०८१ बैशाख २०, बिहीबार    

मकवानपुरका नयाँ एसपीले भने,‘होटलमा छापा मार्दिन’

२०८० श्रावण १६, मंगलबार १५:०८ बजे

भर्खरैमात्र मकवानपुर सरुवा भएर आएका प्रहरी उपरीक्षक सीताराम रिजालले जिल्लाको शान्ति सुरक्षा कायम राख्नेमा प्रतिबद्धता जनाएका छन् ।

मंगलबार मकवानपुरमा क्रियाशील सञ्चारकर्मीसँग छलफलको क्रममा उनले लागूऔषध, सवारी दुर्घटना तथा गुण्डागर्दी नियन्त्रण आफ्नो प्राथमिकतामा रहेको बताए ।

‘मकवानपुर लागूऔषध उत्पादन र कारोबारको हिसावले धेरै अगाडि रहेको छ । यसलाई नियन्त्रण गर्न हाम्रोतर्फबाट हदैसम्मको प्रयास हुनुपर्छ ।’, उनले होटलमा छापा मार्ने काम आफ्नो कार्यकालमा नहुने बताए । ‘होटलमा कुनै जोडी बसेको ठाउँमा छापा मार्ने काम गर्दैनौं । तर, यौन धन्दा भएको हकमा हामी छापा मारेर हदैसम्मको कारबाही अगाडि बढाउने छौं ।’, उनले भने ।

भेटघाटमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य प्रताप विष्टले जिल्लाको भौगोलिक अवस्था र लागूऔषध खेती नियन्त्रणमा विशेष योजना बनाएर अगाडि बढ्न सुझाएका थिए ।

महासंघ मकवानपुरका पूर्वअध्यक्ष हरि हुमागाईंले गुण्डागर्दी नियन्त्रणमा ध्यानदिनेतर्फ काम गर्न आग्रह गरे । प्रेस युनियन मकवानपुर अध्यक्ष सुवास विडारीले सञ्चारकर्मीलाई सुरक्षित वातावरणमा समाचार लेख्ने वातावरण प्रहरीले बनाउन जरुरी रहेको औंल्याउँदै लागूऔषध नियन्त्रणमा प्रहरी–सञ्चारकर्मी सहकार्य जरुरी रहेको बताए ।