२०८१ बैशाख २३, आईतबार    

मकवानपुरमा ‘घरघरमा एमाले, मनमनमा एमाले’ अभियान

२०७८ चैत्र ९, बुधबार ०८:३१ बजे

स्थानीय तहको निर्वाचन नजिकिएसँगै प्रमुख राजनीतिक दलका नेताकार्यकर्ता त्यसको तयारीमा जुटेका छन् । मकवानपुरका राजनीतिक दलका नेता कार्यकर्तालाई यतिखेर पार्टी फेर्नेदेखि नेताको दैलो धाउन भ्याइनभ्याई छ । यसैगरी आफ्नो पार्टीलाई नम्बर एक बनाउने उद्देश्यसहित प्रमुख राजनीतिक दल नारासहित कार्यकर्ताको घरमा पुग्न थालेका छन् ।

नेकपा एमाले मकवानपुर ‘घरघरमा एमाले, मनमनमा एमाले’ नारा लिएर गाउँपालिका र वडा तहसम्म जुटेको एमाले मकवानपुर जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । जिल्ला कमिटी प्रशिक्षण तथा कार्यकर्ता कार्यक्रम आयोजना गरी चुनावको तयारीमा जुटिसकेको उनले बताए ।

अध्यक्ष श्रेष्ठले अहिले जनतासँग भेटघाट कार्यक्रमलाई तिव्रता दिनुका साथै जनतासमक्ष पार्टीको धारणा राख्ने कार्य गरिरहेको उल्लेख गरे । स्थानीय तहमा विगतमा जितेका ठाउँमा घोषणा गरेका के काम पुरा गर्न सक्यौं र के काम पुरा गर्न बाँकी रहेको सबै समिक्षा गरेर जनतासामु पुग्ने काम भइरहेको उनले जनाए ।