२०८१ बैशाख २२, शनिबार    

कांग्रेस पदाधिकारीमा संस्थापन पक्ष धुलोपिठो, ६ मध्ये ५ सिटमा इतर विजयी

२०७८ फाल्गुन १८, बुधबार ०६:२१ बजे

नेपाली कांग्रेसको जिल्ला अधिवेशनअन्तर्गत् पदाधिकारीतर्फको अन्तिम परिणाममा संस्थापन इतर पक्ष हावी भएको छ ।

कुल ६ जना पदाधिकारीमध्ये ५ जना संस्थापन इतरबाट विजयी भएका छन् । एकजना मात्र संस्थापन पक्षबाट विजयी भएका छन् । मकवानपुरमा संस्थापनको नेतृत्व बुद्ध लामा र इतरको नेतृत्व जयराम लामिछानेले गरेका थिए । कुल १७ सय ७१ मत गणनाहुँदा उपसभापतिमा आनन्द कठायत र धर्म लामिछाने विजयी भएका छन् । कठायतले ६११ र लामिछानेले ६०६ मत प्राप्त गरेका छन् । दुवै इतरका हुन् । उपसभापतिमा गोपीलाल विश्वकर्माले ५४२, रामबाबु बानियाँ ४८७, भीम लामाले ४६३, रमेश गिरी ३५३, चन्द्रबहादुर पौडेल ८२ मत प्राप्त गरे ।

सचिवमा दुवैजना इतरबाट विजयी भएका छन् । भीमसेन महत ८१३ र इश्वर पाठक ७३५ मत प्राप्त गरी विजयी भएका हुन् । संस्थापन पक्षका यतिराज सापकोटा ५४८, अर्जुनप्रसाद चौलागाईंले ३९७, प्रदिप कोइराला ३६८ र मानबहादुर पाटा मगर २५० मत प्राप्त गरे ।

सहसचिवमा संस्थापन पक्षबाट एकजना र इतरबाट एकजना विजयी भएका छन् ।संस्थापन इतरबाट इन्दिरा न्यौपाने र संस्थापनबाट ताराचन्द्र बजगाईं विजयी भएका छन् । न्यौपानेले ८५० र बजगाईंले ५६२ मत प्राप्त गरेका थिए । सहसचिवमा मिरा स्याङतान ५२०, रत्नबहादुर गोले ४१४, अर्जुनप्रसाद तिवारी ३६२, कृष्णप्रसाद दाहाल २६९ र सुमन कार्की १२६ मत प्राप्त गरे ।

संस्थापन पक्षबाट सभापतिमा दुईजना उम्मेदवारहुँदा पदाधिकारीमा धुलोपिठो हुन पुगेको हो । पदाधिकारीमा इतर समूह बलियो भएसँगै सभापतिमा निर्वाचित बुद्ध लामालाई आफ्नो कार्यकाल सञ्चालन गर्न सकस हुने प्राय निश्चित छ ।