२०८१ बैशाख १६, आईतबार    

मनहरी कांग्रेसले भन्यो : पाँच दलले गैरराजनीतिक व्यवहार देखायो

२०८० फाल्गुन १२, शनिबार १८:५४ बजे

नेपाल कांग्रेस मनहरी गाउँपालिकाले प्रदेश सांसद इन्द्रबहादुर बानियाँको तस्वीरसहित संयुक्त दबाबको नाममा मनहरीमा पाँच राजनीतिक दलले गरेको कार्यप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

कांग्रेस पालिका सभापति प्रकाश बर्तौलाले प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस वाग्मती प्रदेश सभापति समेत रहेका बानियाँ व्यक्तिगत एवम् कानुनीरुपमा सञ्चालक नरहेको निर्माण कम्पनीसँग जोडेर गैरकानुनी तथा गैरराजनीतिक व्यवहार पाँच दलले देखाएको आरोप लगाइएका हुन् ।

‘पालिकाले आव्हान गरेको सार्वजनिक सूचना अनुसार हिराचन–बानियाँ जेभीले प्रतिस्पर्धात्मकरुपमा ४ वटा पुल निर्माणको जिम्मेवारी पाएकोमा ढिलासुस्ति भएकोभन्दै तस्वीरसहित व्यानर प्रदर्शन गर्ने, गैरकानुनी एवम् गैरराजनीतिक व्यवहारको कांग्रेस मनहरी घोर भर्त्सना गर्दछ ।’, विज्ञप्तिमा पुलहरु ढुंगागिट्टी, बालुवालगायत निर्माण सामग्रीको अभाव, निर्वाचन, निकुञ्ज क्षेत्रभित्रको प्राविधिक र व्यवहारिक कठिनाइ झेल्दै निर्माण कार्य सम्पन्न हुने चरणमा रहेको उल्लेख छ ।

गाउँपालिकाबाट निर्माण कम्पनीलाई आवश्यक सहयोग उपलब्ध गराउँदै निरन्तर अनुगमन भइरहेको र निर्माण कम्पनीले यसै आर्थिक वर्षको चैत मसान्तभित्र निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने समेतको प्रतिबद्धता भएको अवस्थामा कांग्रेस प्रदेश सभापति बानियाँको चरित्र हत्या गर्ने, पाँच राजनीतिक दलको दबाबले पुल निर्माण सम्पन्न भयो भनेर जनतामा भ्रम छरी राजनीतिक जसलिने मनसाय रहेको बर्तौलाको आरोप छ ।

‘हाम्रो सभापतिमाथि राजनीतिक प्रतिशोध साध्ने, चरित्र हत्या एवम् मानहानी गर्ने र जनतामा भ्रम सिर्जना गर्ने गैरराजनीतिक चरित्रप्रति नेपाली कांग्रेस मनहरी गम्भीर आपत्ति प्रकट गर्दछ ।’, उनले भने । स्थानीय जनताको पक्षमा छिट्टो एवम् सहज सेवा प्रवाह गर्ने कार्यमा पैरवी गर्न तथा स्थानीयस्तरमा सञ्चालित विकास निर्माणका कार्यहरु समयममानै सम्पन्न हुनुपछ भन्ने विषयमा नेपाली कांग्रेस मनहरी सदैव सचेत र जिम्मेवार भएर खबरदारी गर्दै आएको बताए ।