वाग्मती प्रदेश खेलकुद विकास परिषद्ले राजनीतिक भागबन्डामा जिल्ला खेलकुद विकास समितिका अध्यक्षहरु नियुक्त गरेको छ ।
प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको सरकार अल्पमतमा परिसकेको अवस्थामा प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले राजनीतिक भागबन्डामा ६ वटा जिल्लाका अध्यक्षहरु नियुक्त गरेका हुन् ।
मंगलबारबाट आफ्नो कार्यकाल सकिएर बिदाइ भएका भण्डारीले असार १३ गतेको मितिमा सत्तारुढ माओवादी केन्द्रलाई चारवटा र नेकपा (एस)लाई दुईवटा जिल्ला भागबन्डा गरी अध्यक्ष नियुक्त गरेका हुन् । बाँकी ७ वटा जिल्ला अब बन्ने कांग्रेस–एमाले नेतृत्वको सरकारलाई नियुक्तिका लागि छोडिएको सदस्य सचिव भण्डारीले बताए ।
उनका अनुसार काठमाडौंमा सानुभाइ बलामी, सिन्धुपाल्चोकमा रामकृष्ण दंगाल, काभ्रेमा मानवीर बाइवा, मकवानपुर राज मोक्तान, धादिङ प्रतापसिं तामाङ र सिन्धुली अध्यक्षमा वीरबहादुर थिङ नियुक्त भएका छन् । स्रोतका अनुसार काठमाडौं र सिन्धुलीका अध्यक्ष नेकपा एसको सिफारिसमा र अन्य जिल्लाको माओवादी केन्द्रको सिफारिसमा नियुक्त भएका हुन् ।
‘खेलकुदको विकासका लागि सर्वदलीय प्रतिनिधित्व आवश्यकता हुन्छ । त्यसकारण नियुक्त गरिएको हो’, उनले आफ्नो कार्यकालमा अन्य दलमा आस्था राखेका कारण कसैलाई बर्खास्त गर्ने काम नगरेको बताए ।
प्रदेशअन्तर्गत १३ जिल्ला करिब डेढ महिनादेखि अध्यक्षविहीन अवस्थामा रहेको थियो । यसपटक प्रदेशले कार्यविधि संशोधन गरी जिल्ला अध्यक्षहरुको कार्यकाल चार वर्षे बनाइएको छ । अघिल्लो पटक कार्यकाल दुई वर्षे थियो । भण्डारी माओवादी निकट हुन् ।