२०८१ बैशाख १७, सोमबार    

नवलपुरकी यमकला वतृत्वकलामा राष्ट्रिय च्याम्पियन

२०८० आश्विन १५, सोमबार २२:५५ बजे

राष्ट्रिय वतृत्वकला प्रतियोगिताको उपाधि नवलपुरकी यमकला पौडेल जितेकी छिन् ।

हेटौंडा जेसिजले आयोजना सोमबार हेटौंडामा भएको प्रतियोगितामा अन्तिम चरणमा छनौट भएका नौ जनालाई पछाडि पार्दै उनले उपाधिमा आफ्नो नाम लेखाउन सफल भएकी हुन् । उनले उपाधिसहित नगद २५ हजार रुपैयाँ प्राप्त गरिन् ।

प्रतियोगितामा पोखराकी सुष्मा आचार्य दोस्रो र नवलपुरकी पुजा पराजुली तेस्रो भइन् । उनीहरूले क्रमश: नगद १५ हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।

‘कहाँ छ खुसी’ शीर्षकमा देशैभरबाट छनौट भएका १० जना विद्यार्थीहरूबीच अन्तिम चरणको प्रतिस्पर्धा गराइएको थियो । कार्यक्रमका विजेता तथा उपविजेतालाई नेपाल सरकारका उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुरष्कृत गरेका थिए ।

गृहमन्त्री श्रेष्ठले युवाहरूको नेतृत्व र व्यत्तित्व विकासका लागि सरकाले विशेष योजना ल्याउने प्रतिबद्धता कार्यक्रममा जनाएका थिए । उनले सामाजिक संस्थाहरूले समृद्धि र सुशासनको पक्षमा काम गर्न जरुरी रहेको औंल्याएका थिए ।

हेटौंडा जेसिजले सन् २०२० बाट वतृत्वकला (पब्लिक स्पिकिङ) प्रतियोगिता आयोजना गर्दै आएको हेटौंडा जेसीजका अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए । प्रतियोगिताका निर्णायक घनश्याम घिमिरे, निमेष निखिल, निरा शर्मा र दीपकराज मिश्रले विजेताको छनौट गरेका थिए ।