२०८१ जेठ ८, मंगलबार    

ब्राजिलमा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ९४ पुग्यो

२०७८ फाल्गुन ५, बिहीबार ११:०८ बजे

ब्राजिलको पेट्रोपोलिस सहरमा आएको बाढीपहिरोका कारण ज्यान गुमाउनेको संख्या ९४ पुगेको छ । हजारौं नागरिक प्रभावित भएको स्थानीय मिडियाले बताएका छन् ।

राजधानी रियो दि जिनेरियोको उत्तरतर्फ पर्ने पहाडी सहरमा अस्ति दशकौंपछि ठूलो मुसलधारे वर्षा भएसँगै बाढपहिरो आएको थियो । पेट्रोपोलिस सहरमा आपत्काल घोषणा गरिएको छ । रुस भ्रमणमा रहेका राष्ट्रपति जइर बोल्सोनारोले त्यहाँ तत्कालै सहायता पठाइने बताएका छन् । रियो दि जिनेरियो राज्यका गभर्नरले सन् १९३२ पछि ठूलो वर्षा भएको जनाएका छन् ।

महिनाभरिमा पर्ने पानी केही घण्टामा पर्दा क्षति भएको जलवायु विज्ञलाई उदृत गरी बीबीसीले जनाएको छ । हिलो मिसिएको भेल घरमा पसेको छ । उद्धारकर्ताले पुरिएका मानिसलाई खोजिरहेका छन् । बाढी तथा डुबानका कारण झण्डै ८० घर क्षति भएका र तीन सय जनालाई विद्यालयमा आश्रय दिइ सुरक्षित राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यसै महिनाको सुरुमा मुसलधारे वर्षाका कारण बाढी र पहिरोमा परि दक्षिणपूर्वी ब्राजिलमा २८ जनाको ज्यान गएको थियो ।