२०८१ बैशाख १७, सोमबार    

सरकारलाई सदन र सडकबाट दबाब जरुरी : माधव नेपाल

२०८० भाद्र २४, आईतबार १५:२६ बजे

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारलाई सदन र सडक दुवैबाट दबाब दिन जरुरी रहेको औंल्याएका छन् ।

समाजवादी मोर्चाको हेटौंडामा आइतबार भएको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ‘सरकारमा रहेको पार्टीले सडकमा गएर आन्दोलन गर्नु हुँदैन भन्ने मान्यता रहेको छ । त्यस्तो होइन । सरकारलाई सडक र सदन दुवै स्थानबाट दबाब दिनुपर्छ । त्यसकारण हामीले समाजवादी मोर्चा बनाएका हौं । हामी सरकारलाई दुवै स्थानबाट दबाब दिन्छौं,’ उनले भने ।

उनले सत्ता बाहेक मोर्चाको उद्देश्य छैन भन्नु गलत रहेको पनि टिप्पणी गरे । ‘हामी मिसन समाजवादमा पुग्ने उद्देश्यमा थियौं । हाम्रो सिद्धान्त र आदर्श समाजवाद हो । सरकार, सडक र सदन तीनवटै मोर्चामा हामी हुनेछौं,’ उनले भने ।

पूर्वप्रधानमन्त्री नेपालले भ्रष्टाचार मुक्त, विकासको सुरुवात र राष्ट्रिय अखण्डताको पक्षमा मोर्चाले काम गर्ने बताएका थिए । यस्तै संविधानको पूर्ण कार्यान्वयनका लागि मोर्चाले काम गर्ने उनको भनाइ थियो ।तर कार्यकर्तालाई उत्साहका साथ आआफ्नो स्थानबाट काम गर्न पनि उनले निर्देशन दिएका थिए ।