२०८१ बैशाख ८, शनिबार    

भदौबाट हेटौंडामा खानेपानी नि:शुल्क

२०७९ श्रावण २४, मंगलबार ०८:४५ बजे

हेटौंडा उपमहानगरपालिका र खानेपानी व्यवस्थापन बोर्ड हेटौंडाबीच खानेपानीको न्यूनतम महशुल रकम उपभोक्तालाई निःशुल्क गर्ने द्विपक्षीय सम्झौता भएको छ । सम्झौता अनुसार बोर्डमार्फत् खानेपानी उपभोग गर्ने प्रति घर परिवार न्यूनतम १० हजार लिटरसम्मको न्यूनतम पानीको महशुल रकम हेटौंडा उपमहानगरपालिकाले भुक्तानी गर्नेछ । सम्झौता अनुसार उपभोक्ताले भदौ महिनाबाट यस सुविधा प्राप्त गर्नेछन् ।

उपभोक्तालाई खानेपानीको न्यूनतम महशुलमा छुट दिने सम्बन्धमा नगर कार्यपालिकाको साउन १६ गते बसेको बैठकले निर्णय गरेको थियो । नगर कार्यपालिकाको निर्णय अनुसार नै उपमहानगरपालिकाले उपभोक्ताहरुलाई प्रतिधारा १० हजार लिटरसम्म पानी खपत गरेबापत ८५ रुपैयाँ खानेपानी व्यवस्थापन बोर्डलाई उपलब्ध गराउने सम्झौता भएको हो

यस्तै, सामुदायिक विद्यालयहरुलाई प्रतिधारा ७ सय रुपैयाँ, सामुदायिक क्याम्पसलाई प्रतिधारा १ हजार ५ सय रुपैयाँ, नगर सहरी स्वास्थ्य केन्द्रलाई प्रतिधारा ७ सय रुपैयाँको दरले उपमहानगरपालिकाले बोर्डलाई महशुल उपलब्ध गराउने भएको छ ।

सम्झौता पत्रमा हेटौंडा उपमहानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई र प्रशासन महाशाखा प्रमुख रामकृष्ण थापा तथा खानेपानी व्यवस्थापन बोर्डको तर्फबाट निमित्त कार्यकारी निर्देशक सुदर्शन ढकाल र लेखापाल संजय कुमार न्यौपानेको हस्ताक्षर गरिएको छ ।