२०८१ बैशाख २९, शनिबार    

मेरो विषयमा पार्टीले छानविन गर्नुपर्छ : घिमिरे

२०७९ बैशाख १२, सोमबार २१:०६ बजे

नेपाली कांग्रेसले वडा अध्यक्षको टिकट दिएरपनि उम्मेदवारी दर्ता गर्न नपाएपछि हेटौंडा–२ का रविन्द्र घिमिरेले पार्टीले तत्काल यस विषयमा छानविन गर्नुपर्ने माग गरेका छन् ।

पार्टीले घिमिरे र विष्णुगोपाल महर्जनलाई टिकट दिएपछि यस्तो अवस्था सिर्जना गरेको हो । महर्जनले विहान १० बजे नै उम्मेदवारी दिएपछि घिमिरेले स्वतन्त्ररुपमा उम्मेदवारी दर्ता गराएका थिए ।
‘पार्टी सभापति बुद्ध लामाले मलाई टिकट दिएका हुन् । जिल्ला उपाध्यक्ष, सचिवसहितको पदाधिकारी र जिल्ला सदस्यहरुले टिकट दिएपछि मैले गठबन्धनसँगै उम्मेदवारी दिने तयारी गरेको थिएँ । अचानक खबर सुन्दा अच्चम लाग्यो ।’, घिमिरेले पत्रकार सम्मेलनमा भने ।

उनले पार्टीले यस विषयमा छानविन गर्नुपर्ने र गलत भएको खण्डमा कारबाही गर्नुपर्ने माग राखे । ‘मेरो चरित्रमै प्रश्न उठ्ने काम भएको छ । पार्टीले छानविन गर्नुपर्छ । मैले यस विषयमा पार्टी सभापतिलाई जानकारी गराइसकेको छु ।’, उनले भने । ‘पार्टीबाट मलाई धोका भयो, यस विषयमा नेतृत्वले छिट्टै नै निकास निकाल्नुपर्छ ।’ ‘आयोगले आफूलाई पार्टीको चुनाव चिन्ह नदिएको खण्डमा स्वतन्त्र उठ्छु र एक भोट बढी ल्याएर चुनाव जित्ने छु ।’ उनले भने ।