२०८१ बैशाख १७, सोमबार    

कांग्रेसको नेतृत्वमा सरकार गठन हुनुपर्छ : शेखर कोइराला

२०८० भाद्र २४, आईतबार १३:३७ बजे

नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार फेर्नुपर्ने संकेत गरेका छन् । ११०औं बीपी जयन्तीको सन्दर्भमा आइतबार हेटौंडा–११ स्थित नवलपुरमा बीपीको शालिक अनावरण गर्न आइपुगेका कोइरालाले कांग्रेसको नेतृत्वमा सरकार निर्माण हुँदा मात्र देशमा लोकतन्त्र र राष्ट्रियता बलियो हुने दाबी गरे ।

उनले प्रधानमन्त्री दाहाल अराजक हुँदै गएको आरोपसमेत लगाए । ‘देशमा द्वन्द्व गराउने र द्वन्द्व निम्त्याउने प्रयास भइरहेकाले प्रधानमन्त्रीको अभिव्यक्तिले देशलाई अप्ठ्यारो पारिरहेको छ,’ वरिष्ठ नेता काइरालाले कांग्रेसकै समर्थनमा निर्माण भएको हालका सरकार परिवर्तन गर्ने वा नगर्ने विषयमा पार्टीभित्र छलफल हुने बताए ।

‘हामी देशकै ठूलो दल हौं । हाम्रो ९० सिट छ । यो सबै विषयलाई विचार गरेर अगाडि बढ्छौं,’ उनले यसैगरी सरकार सञ्चालन भएको खण्डमा देश अप्ठ्यारो स्थितमा पुग्ने दाबी गरे । उनले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाकै नेतृत्वमा सरकार गठन हुनुपर्ने समेत बताए । ‘हाम्रो पार्टीमा संसदीय दलको नेता नै प्रधानमन्त्री हुने व्यवस्था रहेको छ,’ उनले थपे ।

प्रधानमन्त्रीकै कारण धरान घटना भएको उनको टिप्पणी छ । ‘प्रधानमन्त्रीज्यूले आदिवासी जनजातिको कार्यक्रममा हामीलाई भोट दिनुस् हामी जातीय राज्य दिन्छौं भनेर भन्नुभयो । सुर्खेतमा गएर एक दुई महिनाभित्र डेढ दुई लाख जना मानिस सडक उतार्छौं भन्नुभयो,’ कोइरालाले देशको प्रधानमन्त्रीले सडकमा मानिस उतार्छौं र जातीय राज्य बनाउँछौं भन्दै हिँड्दा धरानमा घटना घट्न पुगेको दोहोर्‍याए । ‘धरानमा धार्मिक लडाइँ नभएर जातीय द्वन्द्व भयो,’ उनले थपे ।

पार्टीभित्रको आन्तरिक समस्यालाई सामान्य रुपमा बुझ्नसमेत कार्यकर्तालाई कोइरालाले आग्रह गरेका छन् । ‘कांग्रेस लोकतान्त्रिक पार्टी हो । पार्टीभित्र असन्तुष्टि हुन्छ । हरेक पार्टीभित्र समस्या आउँछ । यसलाई चिर्दै हामी अगाडि बढ्ने हो,’ उनले भने, ‘अन्य पार्टीमा नेता र कार्यकर्ता बोल्न सक्दैनन् । हाम्रो पार्टीभित्र गुनासो र चित्त नबुझेको कुरा राख्छौं । नेपाली कांग्रेस फुट्दैन ।’

उनले देशको अखण्डता र सार्वभौमसत्तालाई जोगाउने जिम्मेवारी कांग्रेसकै काँधमा आएको बताए । ‘अहिले कांग्रेसलाई चौतर्फी रुपमा आक्रमण भएको र त्यसलाई परास्त गर्न जरुरी छ,’ उनले भने ।