२०८१ बैशाख २७, बिहीबार    

आइपिएल अक्सनमा बिकेनन् सन्दीप

२०७८ फाल्गुन २, सोमबार ०८:०५ बजे

 इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को अक्सनमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने लगातार दोस्रो सिजन कुनै टोलीमा बिकेका छैनन् । बेंगलोरमा सम्पन्न नयाँ सिजनको मेगा अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले किनेनन् ।

पहिलो दिन शनिबार अनसोल्ड भएका सन्दीपको दोस्रो तथा अन्तिम दिन झिनो आशा थियो । न्यूनतम मूल्य ४० लाख भारु अर्थात ६४ लाख नेपाली रुपैयाँ राखेका सन्दीपलाई कसैले पनि लिन इच्छा देखाएनन् ।

पहिलो दिन अनसोल्ड भएका दक्षिण अफ्रिका डेविड मिलरलाई भने ३ करोडमा दोस्रो राउन्डमा गुजरात टाइटन्सले किन्यो । म्याथ्यु वेडलाई पनि दोस्रो राउन्डमा टाइटन्सले किनेको थियो । दोस्रो राउन्डमा इंग्ल्यान्डका ओपनर एलेक्स हेल्सलाई कोलकता नाइट राइडर्सले १ करोड ५० लाख भारुमा अनुबन्ध गर्यो ।

दोस्रो राउन्डमा केहि खेलाडी बिकेपनि सन्दीप भने छनोटमा नै परेनन् । अन्तिम राउन्डमा हरेक टोलीले आफूलाई चाहेको खेलाडी रोज्न सक्थे । तर सन्दीपलाई कसैले पनि रोजेनन् ।