२०८१ जेठ ४, शुक्रबार    

अंगारा थाहा गोल्डकप च्याम्पियन

२०७८ माघ ५, बुधबार १६:३३ बजे

हेटौंडा/ तेस्रो थाहा गोल्डकपको उपाधि अंगारा फुटबल क्लबले जितेको छ ।

मकवानपुरको उत्तरीक्षेत्रस्थित थाहा नगरपालिकास्थित इन्द्रायणी मैदानमा बुधबार भएको फाइनलमा बारा–११ लाई १–० गोलअन्तरले पराजित गर्दै अंगारा च्याम्पियन भएको हो । अंगाराका लागि खेलको अन्तिम समयमा सुशान्त कार्कीले निर्णायक गोल गरेका थिए । उनको गोलसँगै अंगारा च्याम्पियन भएको हो ।

उपाधिसागै अंगारा फुटबल क्लबले एक लाख रुपैयाँ र उपविजेता बारा–११ ले ५० हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगितामा २६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उत्कृष्ट खेलाडी अंगाराका जंगे धामी भए । उत्कृष्ट गोलरक्षक अंगाराका किसन गुरुङ, उत्कृष्ट डिफेन्डर अंगाराका विश्वास थापा, उत्कृष्ट मिडफिल्डर बारा–११ का ओम चौधरी, सवैभन्दा बढी गोलकर्ता डाँडाबास एफसीका विशाल स्याङ्तान घोषित भए । उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

थाहा नगर खेलकुद विकास समितिका संयोजक राजेश केसीको अध्यक्षता तथा वाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यमा प्रतियोगिताको समापन तथा पुरस्कार वितरण भएको थियो । कार्यक्रममा थाहा नगरपालिकाका मेयर लवशेर विष्टको पनि उपस्थिति रहेको थियो ।