२०८१ जेठ ७, सोमबार    

धमाधम काजमा कर्मचारी सरुवा गर्दै प्रदेश सरकार

२०७८ माघ २८, शुक्रबार १२:१८ बजे

हेटौंडा/ कर्मचारीको चरम अभाव भोगिरहेको वाग्मती सरकारले एकै पटक एक सय २१ जना कर्मचारीको काज सरुवा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले फुटाइएका ६ वटा मन्त्रालयहरुमा काम अघि बढाउन एकै पटक एक सय २१ कर्मचारीको काज सरुवा गरेको हो । कोरोना संक्रमणको तेस्रो लहरको कारण कार्यालयमा भौतिक उपस्थिति भइ पत्र लिन कठिनाइ हुने भएकाले २५ माघमा वेभसाइटमार्फत काज सरुवामा खटाइएको पत्र अपलोड गरेर सम्बन्धित कर्मचारीहरुले वोवसाइटबाटै सम्बन्धित निकायमा खटाइएको पत्र डाउनलोड गरी हाजिर हुन मुख्यमन्त्रीको कार्यालयले सूचित गरेको छ । सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्ण शर्मा खनालले प्रदेश सरकारले कर्मचारीको अभावलाई व्यवस्थापन गर्न एकै पटक धेरै संख्यामा सरुवा गर्नु परेको बताए । ‘विगतमा पनि कर्मचारीको अभावका बीच प्रदेशमा काम भइरहेको थियो ।’ उनले भने, ‘अहिले मन्त्रालय थपपछि सकसनै भोग्नुपर्ने अवस्था सिर्जना भयो ।’

प्रदेशमा हाल ३ हजार ७ सय ६४ जनाको दरबन्दीसहित कर्मचारी कार्यरत छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार हाल काज सरुवा गरिएका सबै १ सय २१ जना कर्मचारी प्रशासन सेवातर्फका मात्र हुन् । सहायक स्तर तथा अधिकृत स्तरको आठौं तहसम्मका कर्माचारीलाई मात्र विभाजित मन्त्रालयमा सरुवा पठाइएको छ । सबैभन्दा बढी श्रम रोजगार, तथा यातायात मन्त्रालयमा ३६ र सबैभन्दा कम युवा तथा खेलकुद मन्त्रालय र मुख्यन्यायाधिवक्ताको कार्यालयमा १/१ जना लाई सरुवा गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आठ, आन्तरिक मामिला तथा कानुनमा दुई, आर्थिक मामिला तथा योजनामा तीन, उद्योग वाणिज्य तथा आपूर्तिमा ११, कृषि तथा पशुपंक्षी विकासमा आठ, भौतिक पूर्वाधार विकास सात, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमा चार, खानेपानी, उर्जा तथा सिचाईंमा आठ, वन तथा वातावरणमा सात, संस्कृति तथा पर्यटनमा सात, सामाजिक विकासमा तीन, स्वास्थ्य मन्त्रालयमा नौ र प्रदेशसभा सचिवालयमा पााच जनालाई खटाइएको छ ।