२०८१ बैशाख १७, सोमबार    

निर्वाचन क्षेत्रमा प्रभाव बढाउँदै डीना

२०७९ कार्तिक १३, आईतबार १८:५५ बजे

मंसिर ४ गते हुने आमनिर्वाचनमा मकवानपुर क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा उम्मेदवार बनेकी नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले आफ्नो प्रभाव बढाउँदै लगेकी छन् । दैनिकजसो निर्वाचन अभियानको क्रममा जनताको घरदैलोमा पुगेकी उनले कार्यकर्ता र मतदाता माझ आफ्नो प्रभाव बढाएकी हुन् । अहिले उनको पक्षमा टोल, गाउँहुँदै क्रमश: माहौल सिर्जना भइरहेको छ । विपक्षीले उनीको बजारमा पकड कमजोर रहेको आरोप लगाइरहेको अवस्थामा कोर बजार एरियामै उनको पक्षमा माहौल देखिएको हो । विशेष गरी, सामाजिक, सहकारी, महिला अधिकारकर्मी र युवाहरु उनको पक्षमा खुलेरै मत माग्न थालेका छन् ।

‘समानुपातिक सूचीमा पहिलो नम्बरमै बस्नु भनेर पार्टीका साथीहरुले भन्नु भएको थियो । मैले जनताबाटै निर्वाचित भएरै जनताको सेवा गर्छु भनेर प्रत्यक्षतर्फ उम्मेदवार बनेको हुँ’, डीनाले सत्तारुढ गठबन्धनमा रहेको माओवादी केन्द्र, नेकपा समाजवादी र अन्य दलको दरिलो साथ रहेका कारण आफू सहजै विजयी हुने बताइन् । अहिले उनी दैनिक एक दर्जनभन्दा बढी कार्यक्रममा सहभागी भएर आफ्नो मिसन र भिजन सवै माझ पस्किरहेकी छन् । सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेकी उनी कांग्रेसले देशभरमा उठाएको चारजना महिला उम्मेदवारमध्ये एक हुन् । उनीसँग राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा र राप्रपाका उम्मेदवार दीपकबहादुर सिंह चुनावी मैदानमा छन् । थापा एमालेको चुनाव चिन्ह लिएर चुनावी मैदानमा उत्रिएपछि एमालेभित्र तनावको अवस्था सिर्जना भएको छ । जुन उम्मेदवारी दर्ताकै दिनमा देखिएको छ । राप्रपाका जनाधार यसक्षेत्रमा कमजोर रहेको छ । यस निर्वाचन क्षेत्रका स्थानीय तहमा कांग्रेस र माओवादीको उपस्थिति बलियो रहेका कारण उनलाई चुनावी नतीजा आफ्नो पक्षमा पार्न सहज हुने अनुमान गरिएको छ ।

घरदैलो र कार्यकर्ता भेटघाटको क्रममा डीना अहिले गाउँगाउँमा पुगेकी छन् । कार्यकर्ता तथा स्थानीयको मायाबाट हौसिएकी छन् । डीनाले अर्थशास्त्रमा स्नातकोत्तर तहसम्म अध्ययन अध्ययन गरिकी छन् । स्वतन्त्र विद्यार्थी युनीयन पद्मकन्या क्याम्पसकी पूर्वसभापति भइसकेकी महालक्ष्मी विगतमा तरुण दल र नेपाल महिला संघमा रहेर पनि काम गरिसकेकी छन् । विद्यार्थीकालदेखि नै राजनीतिमा सक्रिय उनी १४ औं महाधिवेशनमा देउवा प्यानलबाट नेपाली कांग्रेसको सहमहामन्त्रीमा निर्वाचित भएकी हुन् । उनी संविधानसभा निर्वाचन अगाडिसम्म जलस्रोत राज्यमन्त्री थिइन् ।

यस निर्वाचन क्षेत्रमा ४ वटा पालिकाका ४० वटा वडा पर्छन् । हेटौंडा उपमहानगरका १५, मकवानपुरगढीको ४, बकैया गापाको १२ र वाग्मती गापाको ९ वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । स्थानीय तहको निर्वाचनमा ४० वटा वडामध्ये २६ वटा वडामा सत्तारुढ दल विजयी भएको छ । चारवटा पालिकामै सत्तारुढ गठबन्धनको मात्र मेयर/उपमेयर, अध्यक्ष र उपाध्यक्ष पदमा विजयी भएका छन् । यसक्षेत्रमा ७५ हजार २ सय २१ पुरुष, ७४ हजार ९ सय ३० महिला र अन्य चार गरी १ लाख ५० हजार १ सय ५५ हजार मतदाता छन् । उक्त क्षेत्रमा दुई स्वतन्त्रसहित १६ जना चुनावी मैदानमा छन् ।